नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित, सञ्चालक भन्छन्ः कर्मचारीले राजनीति गरे

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले तत्काल कर्मचारीको तलब बढाउन नसकिने बताएका छन्।

कर्मचारीले केही दिनदेखि सुविधा बढाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको बेला प्रवन्ध सञ्चालक डा. कनोडियाले यस्तो बताएका हुन्। नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. कनोडियाले संस्था घाटामा चलिरहेको बेलामा कर्मचारीको तलब बढाउन नसकिने बताए।

‘कोभिड र अन्य कारणले दुई वर्षदेखि मेडिकल कलेज घाटामा गइरहेको छ। त्यो पूर्ति गर्नका लागि कम्तीमा दुई वर्ष लाग्छ,’ डा. कनोडियाले भने, ‘त्यसपछि तलब बढाउने विषयमा बसेर छलफल गर्न सकिन्छ।’

नेपालगञ्ज मेडिकल कलेजमा स्थायी, करार र डाक्टर गरी एक हजार चार सय बढी कर्मचारी छन्। कर्मचारीले तलब बृद्धि लगायतका माग राखेर आन्दोलन चर्काइरहेका छन्।

प्रवन्ध सञ्चालक डा. कनोडियाले तलब बढाउने बाहेक सबै कुरामा छलफल गर्न सकिने बताए। उनले आन्दोलनका कारण अस्पतालमा भइरहेको अवरोधलाई हटाउन स्थानीय प्रशासनसँग आग्रह गरिसकेको जानकारी दिए।

‘३०/४० जना छन्। जो नेतागिरी गर्छन्। उनीहरु कामभन्दा बढी राजनीति गर्छन्,’ डा. कनोडियाले थपे, ‘एक तिहाइ तलब लिएर मान्ने भए उनीहरु घरमै बसेहुन्छ। म त्यो गर्न तयार छु।’

मेडिकल कलेजका आर्थिक प्रशासन उपनिर्देशक श्याम शर्मा र अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले दुई वर्षदेखि मेडिकल कलेजलाई आर्थिक भार थपिएको कुरा जान्दाजान्दै केही कर्मचारी आन्दोलनमा उत्रिएको बताए।

‘उहाँहरुको माग अनुचित छ। पूरा गर्न सकिँदैन,’ शर्माले भने, ‘संस्थालाई बलियो बनाउनतिर लागौं। त्यसपछि सुविधाका कुरा गरौँला।’

प्रवन्ध सञ्चालक डा. कनोडियाले जति दिन कर्मचारीले आन्दोलन गरेर संस्थालाई घाटा पुर्‍याउँछन्, त्यति नै उनीहरुको भत्तालगायतका सुविधा काटिने चेतावनी दिए।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्