एमडीएमएस लागू गर्ने निर्णय कार्यान्वयन नभएकोप्रति मोबाइल आयातकर्ताको असन्तुष्टि

काठमाडौँ– अवैध मोबाइलमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेकोप्रति मोबाइल फोन आयातकर्ताहरुले आपत्ति जनाएका छन्।

गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली ३ महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा मोबाइल फोन इम्पोटर्स एशोसिएशनका अध्यक्ष दिपक मल्होत्राले आपत्ति जनाए।

उनले सो निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोबाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन सरकारलाई दबाबसमेत दिए।

अध्यक्ष मल्होत्राले भने, ‘मोबाइल लिगल मात्रै इम्पोर्ट हुने हो भने हामीलाई पनि केही हदसम्म व्यापार गरेको रमाइलो हुन्थ्यो, फाइदा हुन्थ्यो होला। तर विडम्बना के छ भने आजको मितिमा यो २ महिना, ३ महिनामा पनि लागू नहुँदाखेरी अब ती व्यापारीहरु जसले इलिगल्ली इम्पोर्ट गर्छ, उनीहरुको मनमा फेरि के भइसक्यो भने यो कुरा त हल्ला मात्रै रैछ। नेपालमा यो लागू हुँदैन भनेर फेरि इलिगत बजार सुरु भयो।’

उनका अनुसार वैध बजारले मात्रै मोबाइल फोन बिक्री गर्न पाएमा राम्रो व्यापार हुन्छ। तर अवैध तरिकाले अहिले बजारमा झण्डैझण्डै ४५/५० प्रतिशतको हाराहारीमा फोन आयात भएर बिक्री भइराखेको अवस्था रहेको उनले बताए।

आफूहरुले यसमा एक पटक फेरि जोडदार आवाज उठाउने् उनले बताए। र यो चाँडोभन्दा चाँडो लागू हुनुपर्ने उनको माग छ। ‘लागू गर्नुपर्छ। यो भएको खण्डमा यो व्यवसाय राम्रोसँग अगाडि बढछ भन्ने मलाई लाग्दछ’, उनले भने।

भन्सार छलेर र चोरी पैठारीमार्फत् अवैध रुपमा भित्रिएका मोबाइल बन्द गर्न सरकारले गत साउन १ गतेदेखिनै एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो। तर त्यसलाई प्राविधिक कारण देखाउँदै ३ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा ल्याउन नसकेकोमा व्यवसायीहरुको सरकारप्रति आक्रोश छ।

एशोसिएशनका अध्यक्ष मल्होत्राले सरकारले चाहे १५ दिनभित्र सो प्रणाली सञ्चालनमा ल्याएर नेपालमा अवैध मोबाइल भित्रिन बन्द गर्न सक्ने दावी गरे। तर सरकारले कसैको इन्ट्रेस्टमा त्यो प्रणाली सञ्चालनमा ल्याउन नचाहेको उनको आरोप छ।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्