स्कटल्याण्डले निम्त्याएको संकट चिर्दै बंगलादेश टीट्वेन्टी विश्वकपको दोस्रो चरणमा

टेस्ट मान्यताप्राप्त बंगलादेश जारी टीट्वेन्टी विश्वकपको दोस्रो चरणमा पुगेको छ। बिहीबार पपुआ न्युगिनी (पीएनजी)लाई ८४ रनले पराजित गर्दै बंगलादेशले सुपर-१२ मा स्थान बनाएको हो।

यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग ६ रनले पराजित भएपछि बंगलादेश संकटमा परेको थियो। तर दोस्रो खेलमा ओमानलाई पराजित गर्दै बंगलादेशले दोस्रो चरण पुग्ने सम्भावना कायम गरेको थियो।

आफ्नो तेस्रो खेलमा बिहीबार ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनाएको थियो।

बंगलादेशका महमुदुल्लाहले ५०, साकिब अल हसनले ४६, लितोन दासले २९, अफिफ हुसेनले २१ र मोहम्मद सैफुद्दिनले १९ रन बनाएका थिए।

बलिङतर्फ पीएनजीका कबुआ मौर्य, ड्यामिन रभू र अस्सद वालाले दुई–दुई तथा साइमोन अताइले एक विकेट लिए।

१८२ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको पीएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो। उसका  लागि किप्लिन डोरिगाले ४६ रन बनाए पनि अन्य व्याटसम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बंगलादेशका साकिब अल हसनले ४, मोहम्मद सैफुद्दिन र तस्किन अहमदले २–२ तथा महेदी हसनले एक विकेट लिए।

जितसँगै तीन खेलबाट ४ अंक जोडेको बंगलादेश समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलबाट ४ अंक जोडेको स्कटल्याण्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। आजै स्कटल्याण्ड र ओमानबीच हुने खेलको विजेता समूह ‘बी’बाट सुपर १२ मा पुग्ने दोस्रो टोली बन्नेछ।

पहिलो चरणबाट समूह ‘ए’का दुई र समूह ‘बी’का दुई टोली सुपर– १२ मा पुग्नेछन्। समूह ‘ए’मा श्रीलंका, आयरल्याण्ड, नामिबिया र नेदरल्याण्डस् छन् भने समूह ‘बी’मा स्कटल्याण्ड, ओमान, बंगलादेश र पीएनजी छन्।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्