दाङ– खेतमा सुकाएर राखेको धानको निन बाढीले बगायो। माटो र बालुवाले पुरेको त्यही धान पानीमा पखाल्दै बाटोको एक किनारमा सुकाउने काम चलिरहेको छ।

बुधबारको तुलनामा बिहीबार मौसममा धेरै सुधार आयो। घाम लागेपछि किसान खेतमा पानीले डुबेको धान स्याहार्न पुगे। तर, पानीले भिजाएको धान उम्रिसकेको छ।

‘काटेर सुकाएको धान उम्रिसक्यो। अब कसरी साझ बिहानको छाक जुटाउने?,’ किसान रघुनाथ चौधरीले भने, ‘एक मुठी धानसमेत भित्र्याउन पाइएन।’

लमही नगरपालिका वडा नम्बर ३ मजगाउँको तीन सय विगाहामा गरिएको धान खेतिमध्ये ७५ प्रतिशत धान क्षति भएको वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिए। वडा कार्यालयले टोल विकास संस्थामार्फत पूर्ण क्षतिको विवरण संकलन सुरु गरेको छ।

‘७५ प्रतिशत धान खेतमै छ। पानीले भिजाएपछि धान कामै नलाग्ने अवस्थामा छ,’ वडा अध्यक्ष चौधरीले भने, ‘किसानले कसरी गुजारा चलाउने भन्ने अवस्थामा आइपुगेको छ।’

वर्ष दिन खानको लागि धान खेति गरेका इनाहा चौधरी अब के खाने? कसरी जुटाउने भन्ने अवस्थामा पुगेको बताउँछन्। लमही नगरपालिका वडा नम्बर ३ उत्तर नारायणपुरमा बाढी बस्ती र खेतमा पसेपछि किसानले गरेको धान खेति नष्ट गरेको छ।

नारायणपुर कुलो सिंचाइ प्रणालीको पानी बस्ती र धान खेतमा पसेपछि स्थानीयलाई हैरानी भयो। ‘कुलोको सबै पानी खेतमा पस्यो। छिटो कुलो बनाउन भन्यौँ। तर, सुनुवाइ नहुँदा हामीले दुःख पायौँ, ‘ चौधरीले भने, ‘पानीले धान भिजाएपछि न राम्रोसँग निदाउन सकिएको छ, न हाँस्न सकिएको छ।’

उत्तर नारायणपुरमा धान रोपेको बेलामा दुई पटक बाढी पस्यो। धान बगायो। फेरि धान रोपेर फलाएका स्थानीयलाई फेरि बज्र पर्‍यो।

खेतमा जनप्रतिनिधि


लगातार परेको पानीले धानमा ठूलो क्षति गरेको छ। क्षतिको अवस्था बुझ्न जनप्रतिनिधि किसानको खेतमा पुग्न थालेका छन्।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, वडा अध्यक्ष बाबुराम चौधरी, कृषि शाखाका प्रमुख अम्मर चौधरीसहितको टोलीले क्षतिबारे जानकारी लिएको हो।

धान भित्र्याउने समयमा किसानलाई आइपरेको समस्या समाधान गर्न स्थानीय सरकारले राहत वितरण गर्ने नगर प्रमुख कुलबहादुर केसीले आश्वस्त पारे।

‘किसानले उत्पादन गरेको धान पानीले भिजाएर नष्ट भएको छ। किसानलाई परेको दुःख, समस्या समाधानको लागि तीन तहका सरकारबाट राहत प्याकेजको रुपमा आउने छ, ‘ उनले भने, ‘यो बेला हामी सबैले धैर्य गर्न जरुरी छ।’

जिल्लाका अन्य पालिकाले पनि क्षतिको विवरण संकलन सुरु गरेका छन्। कृषि ज्ञान केन्द्र दाङले ३० प्रतिशत धान पूर्ण क्षति भएको बताएको छ।

३९ हजार हेक्टरमा धान खेति गरिएको थियो। लमही नगरपालिका कृषि शाखाका प्रमुख अम्मर चौधरीले घाम लागेको अवस्थामा खेतमा भिजेको धानलाई सुख्खा ठाउँमा ओसारेर सुकाउन सुझाव दिए।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्