सुरक्षित स्याउ निकासी गर्न हुम्लीलाई कार्टुन

किसानलाई अनुदानमा बिक्री गर्न तयार गरिएको कार्टुन । तस्बिर : राजन रावत

सिमकोट – हुम्लाका स्याउ किसान अहिले दंग छन्। बोरामा राखेर स्याउ बिक्री गर्दै आएका यहाँका किसानले सुरक्षित कार्टुन पाएका हुन्। यसले गर्दा स्याउ कुहिने र खेर जाने समस्या हटेपछि हुम्लाका स्याउ किसान दंग परेका हुन्। कार्टुनमा ‘हुम्ला अर्गानिक स्याउ’ लेखेर ब्राण्डिङसमेत गरिएको छ।

कृषि विकास कार्यालयले स्याउ किसानलाई पचास प्रतिशत अनुदानमा कार्टुन उपलब्ध गराएको छ। कार्यालयले हुम्लाको स्याउको ब्राण्डिङसमेत हुने गरी सुरक्षित कार्टुनको व्यवस्था गरेको हो। बोरामा राखेर स्याउ जिल्ला बाहिर निकासी गर्दा बारम्बार कुहिएको गुनासो आउने गरेको स्याउ किसानहरु बताउँछन्। जसले गर्दा स्याउको राम्रो मूल्यसमेत नआउने गरेको उनीहरुको गुनासो छ।

‘बोरामा स्याउ निकासी गर्दा पाउनेले धेरै कुहिएको गुनासो गर्ने गरेका छन्’, एक किसानले भने, ‘जसले गर्दा मूल्य पनि नपाइने र खेर जाने समस्या थियो।’ बोराको ठाउँमा कार्टुन प्रयोग गर्न थालिएपछि स्याउ सुरक्षित निकासी भएको र यसले मूल्य पनि उठेको उनीहरुको भनाइ छ।
कृषि विकास कार्यालयले स्याउ किसानलाई उत्पादन निकासीमा समस्या भएपछि कार्टुन प्रयोग गर्ने जुक्ति फुरेको जनाएको छ। कार्यालयले पचास प्रतिशत अनुदानमा किसानलाई धमाधम कार्टुन बिक्री वितरण गरिरहेको छ। पचास रुपैयाँ मूल्य रहेको कार्टुन स्याउ किसानले पच्चीस रुपैयाँ तिरेर लाने गरेका छन्।

कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले किसानहरुले बोरामा स्याउ निकासी गर्दा कुहिने समस्या भएको गुनासो गरेपछि समाधानको उपाय अपनाइएको बताए।

‘किसानले स्याउ बिक्री गर्दा वा जिल्ला बाहिर निकासी गर्दा बोरामा पठाउने र स्याउमा घाउचोट लागेर कुहिएर नोक्सानी भएको गुनासो आएपछि कार्टुन बनाउने उपाय अपनाइएको हो’, उनले भने, ‘कार्यालयले किसानलाई पचास प्रतिशत अनुदानमा कार्टुन वितरण गर्दै आएको छ।’

उनका अनुसार कार्यालयले जिल्ला बाहिरबाट पाँच हजार कार्टुन लेभलिङ गरेर खरिद गरेको छ। एउटा कार्टुनमा ७० देखि १०० दाना स्याउ अट्छ। कार्टुनको खरिद मूल्य पचास रुपैयाँ नै परेको कार्यालयले जनाएको छ।

‘कार्टुनको व्यवस्थाबाट स्याउ निकासी गर्दा कुहिने समस्याबाट किसानलाई राहत मिलेको छ’, सूचना अधिकारी धमेन्द्रले थपे, ‘यसबाट हुम्लामा उत्पादन भएको स्याउको ब्राण्डिङ पनि भएको छ।’
किसानले बाहिरबाट खरिद गर्दा कार्टुन हवाई मार्गबाट ढुवानी गर्नुपर्छ। जसले गर्दा महंगो पर्ने गर्छ।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्