यी हुन् जलवायु परिवर्तनको सबैभन्दा धेरै मारमा पर्ने ११ देश

अमेरिकाको एक संस्थाले भारतलगायत विश्वका ११ देशलाई जलवायु परिवर्तनले सबैभन्दा धेरै प्रभाव पार्ने जनाएको छ। अमेरिकाको अफिस अफ नेशनल इन्टेलिजेन्स (ओडीएनआई) को रिपोर्टअनुसार यी देशहरुलाई जलवायु परिवर्तनले निम्त्याएको परिस्थितिसँग लड्न धेरै मुस्किल हुनेछ।

ओडीएनआईले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारत, पाकिस्तान, अफगानिस्तान, म्यान्मार, इराक, उत्तर कोरिया, ग्वाटेमाला, हाइटी, होन्डुरस, निकारागुवा र कोलम्बिया चिन्ताजनक देशको श्रेणीमा रहेका छन्।

यस्तै जलवायु परिवर्तनको मारमा पर्ने देशमा भारत, अफगानिस्तान र पाकिस्तान ‘संवेदनशील देश’ को सूचीमा रहेका छन्। प्रतिवेदनका अनुसार यी देशहरुले जलवायु परिवर्तनको असरसँग लड्ने तयारी गरेका छैनन्।

ओडीएनआईका एक अधिकारीले बढ्दै गएको तापक्रम र पानीको कम उपलब्धता र अप्रभावकारी सरकारको कारणले अफगानिस्तानको स्थिति खासगरी चिन्ताजनक अवस्थामा रहेको बताएको रोयटर्सले उल्लेख गरेको छ।

ओडीएनआईले ‘ग्लोबल वार्मिङ’ को कारणले विश्वमा नै भू-राजनीतिक तनाव बढ्ने पनि अनुमान गरेको छ।

उसले दक्षिण एसिया र अन्य देशमा पानीलाई लिएर विवाद हुने र यही विषय नै भूराजनीतिक तनावको मुख्य कारण बन्ने जनाएकाे छ।

प्रतिवेदनका अनुसार जलवायु परिवर्तनको कारण मध्य अफ्रिका र प्रशान्त महासागर क्षेत्रका साना देशहरुमा अस्थिरता बढ्ने खतरा रहेको छ र त्यसले विश्वका गरिब देशहरुमा प्रभाव पार्ने छ।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्