सम्झौताअनुसार औषधि नल्याउने तीन सप्लायर्स कारबाहीमा

चितवन – सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई भरतपुर अस्पतालले कारबाही गरेको छ। सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरिएको हो।

अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। उनका अनुसार अस्पतालमा आवश्यक औषधि खरिदको आदेश दिइसकेपछि पनि उनीहरुले औषधि ल्याएका थिएनन्। औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए। अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ।

कारबाहीस्वरुप अस्पतालले औषधि बाहिर खरिद गर्दा र बोलपत्रमा सम्झौता हुँदाको मूल्यभन्दा थप परेको मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ। सरकारको ‘फार्मेसी निर्देशिका २०७४’ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आएपछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनीलाई यस अस्पतालमा कारबाही गरिएको यो पहिलो रहेको अस्पतालको फार्मेसी विभाग प्रमुख सविनराज लामिछानेले जानकारी दिए।
सन फार्मेसीले मधुमेहका बिरामीलाई आवश्यक पर्ने ‘मेटफर्मिन’ नामक औषधि विगत दुई महिनादेखि उपलब्ध गराउन छाडेको थियो। सो औषधि फार्मेसीले सम्झौताअनुसार १.४० पैसा प्रतिट्याब्लेटमा अस्पताललाई उपलब्ध गराउनुपर्ने हुन्थ्यो। लामो समयसम्म औषधि ठेकेदार कम्पनीले ल्याउन नसकेपछि अस्पतालले १.७५ पैसामा खरिद प्रक्रिया सुरु गरेको छ। सो फार्मेसीलाई सम्झौता भएभन्दा बढीको मूल्य तिर्न लगाइएको छ। यस फार्मेसीले २११ प्रकारका औषधि ल्याउने सम्झौतामा उल्लेख छ।

यस्तै हिमसागर मेडिकलले मेटफर्मिन÷ग्लिमेप्राइड नामक औषधि समयमा नल्याएको जनाउँदैै कारबाही गरिएको छ। विगत लामो समयदेखि माग गरिएको औषधि नपाउँदा बिरामी मर्कामा पर्न थालेको जनाउँदै अस्पतालले आफै खरिद गरी सम्झौताभन्दा बढीको मूल्य ठेकेदार कम्पनीलाई तिर्न लगाएको छ। सो औषधि सम्झौताअनुसार ६.९८ पैसा प्रतिट्याब्लेट पर्नेमा अस्पतालले बाहिरबाट खरिद गर्दा रु ७ मा खरिद गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए। यस हलसँग १८१ प्रकारका औषधि ल्याउने सम्झौता भएको थियो।

कारबाहीमा पर्नेमा मेडिसेल्स फर्माले डेक्सामेथासोन इन्जेक्सन (जीवन रक्षक औषधि) आकस्मिक कक्ष, सघन उपचार कक्ष र कोरोना भाइरस सङ्क्रमितलाई समेत प्रयोग हुने औषधि नल्याएपछि कारबाही गरिएको छ। सम्झौताअनुसार रु ११ प्रतिभाइलमा ल्याउनुपर्ने सो औषधि अस्पतालले बाहिरबाट खरिद गरी ल्याउँदा रु १८.१२ पैसा पर्न गएको प्रमुख लामिछानेले जानकारी दिए। यस कम्पनीलाई पनि सम्झौताभन्दा बढीको रकम तिराइने छ। यस कम्पनीले अस्पतालमा ९४ प्रकारका औषधि ल्याउनका लागि सम्झौता गरेको थियो। उनीहरुले अन्य औषधिसमेत समयमा उपलब्ध गराउन नसकेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका अनुसार अन्य औषधिका लागिसमेत ताकेता गरिएको छ। अन्य सप्लायर्सले समेत ढिलाइ गर्दा आवश्यकताअनुसारको औषधि बिरामीले पाउन सकेका छैनन्। ढिलाइ गर्ने कम्पनीलाई पनि ताकेता गरिएको र अटेर गरे कारबाही गरिने अस्पतालले जनाएको छ। समयमा औषधि नपाउँदा सेवाग्राही मारमा पर्न गएकाले कारबाही गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलले बताए। अस्पतालले खरिद नियमानुसार कारबाही प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

उनले भने, ‘समयमा औषधि नल्याउने ठेकेदारलाई नियमित जानकारी गराइएको छ। समयमा औषधि नल्याए कानुनअनुसार कारबाहीको प्रक्रियामा अघि बढाउँछौँ।’

समयमा औषधि नल्याउने कम्पनीलाई सम्झौताअनुसार कारबाही गरी कालोसूचीमा राख्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागमा सिफारिस गरिने उनले जानकारी दिए। अस्पतालको फार्मेसीमा औषधि ल्याउनका लागि विभिन्न १० कम्पनीले ठेक्का सम्झौता गरेका थिए। विसं २०७७ साल माघमा एक वर्षका लागि औषधि ल्याउन ती सप्लायर्ससँग सम्झौता गरिएको हो। सर्जिकल सामानतर्फ ६ सप्लायर्ससँग सम्झौता भएको थियो।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्