कर्णाली सरकारले बाढीपहिरो पीडितलाई राहत दिने

सिमकोट- कर्णाली प्रदेश सरकारले  बाढीपहिरो पीडितलााई राहत उपलब्ध गराउने भएको छ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषदको शुक्रबार बसेको बैठकले अन्नबालीमा भएको क्षतिको विवरण संकलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको हो।

त्यसैगरि विपदबाट पूर्ण रूपमा क्षति भएका घरको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँगको समन्वयमा पुनःनिर्माण गर्ने निर्णय पनि प्रदेश विपद व्यवस्थापन परिषदले गरेको छ।

विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने, बाढीपहिरो लगायतको विपदमा परी मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना बीमाबाट प्राप्त हुने २ लाख रूपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि परिषद्ले गरेको छ।

यस्तै विपदमा परी घाइते भएकाको उपचार खर्च पनि कर्णाली प्रदेश सरकारले व्यहोर्ने भएको छ। विपदका कारण अवरूद्ध सडक, पुल, खानेपानी, सिँचाइ तथा विद्युत पूर्वाधारको मर्मत सम्भार गरी तत्काल सुचारू गर्ने निर्णय प्रदेश विपद् व्यवस्थापन परिषदले गरेको छ।

मुख्यमन्त्रीको संयोजकत्वमा समितिको बैठक बसेको थियो।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्