खानेपानी कार्यालयका निमित्त प्रमुखलाई अर्धनग्न बनाएर नगर घुमाउने १७ जनाविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम– खानेपानी कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई अर्धनग्न रुपमा नगर घुमाउने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि मुद्दा चलाइएको छ।

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार दिउँसो कुटपिट गर्दै कार्यालयबाटै अर्धनग्न गरी नगर घुमाइएको थियो।

शुक्रबार सो घटनामा पक्राउ परेकामध्ये १७ जनामाथि सरकारी वकिलको कार्यालयमार्फत अपराधिक उपद्रव शीर्षकमा मुद्दा चलाइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

मुद्दा चलाइएकाहरु सिरहा, सर्लाही र महोत्तरीका जनमत पार्टीका कार्यकर्ताहरु रहेका छन्। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सो घटनालाई जनकारवाही भएको र यसमा जनताहरुले सहभागिता रहेका दावी गरेका थिए।

मुद्दा चलाइएकाहरुमध्ये सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजना रहेका छन्।

जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, विजय कुमार यादव, सञ्जय प्रधान, धनिकलाल कापर, कैलाशप्रसाद साह, श्याम सुन्दर मण्डल, सिरहाका महेश कुमार यादव, सौदी मण्डल, दुर्योधन यादव, प्रेम किशोर यादव, , राम करण यादव, दिनेश रजक साफी, अमरनाथ साह, महोत्तरीका संजय कुमार साह, विरेन्द्र महतो, विक्रम कुमार साह र सर्लाहीका संजय कुमार सिंहमाथि मुद्दा चलाइएको हो।

प्रहरी नायब उपरीक्षक बस्नेतले यो मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको बताए।

यस घटनामा प्रहरीले सुरुमा १० जनालाई नियन्त्रणमा लिएको थियो भने पछि थप ५२ जनालाई नियन्त्रणमा लिएको थियो। पछि प्रहरीले अबेर राति ४५ जनालाई छाडेको थियो।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्