खरानी टक्टक्याउँदै उठेकाे नेबिकाे

केशव भट्टराई

काठमाडौँ- त्यसदिन साँझ साढे नौ बजे फ्याक्ट्रीको कुलिङ बन्द भयो। १० बजे सबैको सिफ्ट सकियो। केही प्राविधिकहरु मेसिनको ओभन सेलाउन ११ बजेसम्म बसे।

हरेक रातजस्तै ११ बजे फ्याक्ट्री बन्द भयो। सुरक्षा गार्ड बाहेक सबै घर लागे।

भोलिपल्ट शनिबार, कारखानाका सबै प्लान्टहरु बन्द हुन्थे। त्यो शनिबार फ्याक्ट्री सधैँको जस्तो भएन।

रातको दुई बजिसकेको थियो। दुई बजेर करिब २० मिनेटमा केशव भट्टराईको माबाइल फोन बज्यो। फोन कारखानाका सुरक्षा गार्डको थियो। करिब दुई बजेर १० मिनेटमा सुरक्षा गार्डले कारखानाको एक कुनामा आगोको ठूलो लप्का देखे। उनले तुरुन्तै हाकिमलाई फोन गरे।

गएको साउन २३ गते शनिबारको बिहान नेबिकोका महाप्रवन्धक केशव भट्टराई सम्झन चाहँदैनन् तर बिर्सन पनि सक्दैनन्।

सबैले सकुशल छोडेर गएको कारखाना भोलिपल्ट खरानी मात्र बाँकी रह्यो।

साउन २३ गते बिहान नेबिकाेकाे बालाजु कारखानामा लागेकाे आगाे निभाउँदै सुरक्षाकर्मी/तस्बिर: बर्षा शाह

‘मलाई राति दुई बजेतिर सुरक्षा गार्डको फोन आयो,’ भट्टराईले भने, ‘म बानेश्वरबाट राति नै आएँ। म यहाँ आउँदा करिब २ बजेर ४० मिनेट गएको थियो। त्यतिबेलासम्म यहाँ औद्योगिक क्षेत्रका धेरै मान्छेहरु आइसक्नुभएको थियो। औद्योगिक क्षेत्रको पानी ट्याङकरले निभाउने प्रयास भयो।’

त्यहाँ जम्मा भएका सबैले आफ्नो तर्फबाट निभाउने प्रयास गरे। सबैतिर खबर गयो। सबै जम्मा हुँदा बिहानको ४ बजिसकेको थियो।

‘हाम्रा केही संरचना अलि पुराना थिए,’ भट्टराई भन्छन्, ‘भवन र त्यसमा प्रयोग भएका विद्युतिय तार र सामाग्रीमा बढी भोल्टेज प्रवाह हुँदा सर्ट सर्किट भएर आगो लाग्यो।’

‘छेउमै बिस्कुटका सामाग्री थिए,’ उनले भने, ‘त्यसमा आगोले समातेछ।’

बिस्कुट पोको पार्ने प्लास्टिक, बिस्कुटमा प्रयोग हुने घ्यूका कारण आगो फैलिएको उनको अनुमान छ।

आगाेले जलेका सामान निकाल्दै सुरक्षाकर्मी/तस्बिर: बर्षा शाह

आगो सुरु भएको १५ देखि २० मिनेटमा ती बस्तुमा आगोले टिपेको उनको अनुमान छ। ‘हामीलाई त्यो आगो निभाउन करिब १६ घण्टा लाग्यो,’ अनुहार मलिन बनाउँदै उनले भने, ‘त्यो क्षण दुःख लाग्दो थियो।’

‘हामी फेरि उठ्यौँ’


‘सुरुका पाँच–सात दिन त हामी अन्योलमा थियौँ,’ भट्टराईले भने, ‘हाम्रो सबै सामान खरानी भएको थियो। आधा मेसिन, बिस्कुट बनाउने समान अनि भवन पनि।’

भट्टराईको टोलीलाई धेरैले धेरै प्रकारका सुझाव दिए। सुरुका केही दिन उनीहरुलाई कसरी फेरि उठ्न सक्छौँ भन्ने अन्योलमा नै बित्यो। सामान जलेर बनेको खरानीसमेत हटाउने मसो पाएनन् उनीहरुले।

चुनौती थुप्रै थिए तर जतिसक्दो चाँडो कारखाना सञ्चालन गर्नुपर्ने उनीहरुले योजना बनाइसकेका थिए।

हामीले बीमा कम्पनीलाई खबर गरिसकेका थियौँ। भट्टराईले भने, ‘बीमाले करिब एक हप्तापछि फोहोर उठाउन ‘ग्रीन सिग्नल’ दियो। तर आन्दोलनका कारण काठमाडौँको फोहोर उठेको थिएन।’

जेलेको समान, आगो निभाउन हानिएको पानीका कारण बनेको हिलो त्यो नहटाइ काम गर्न सक्ने अवस्था थिएन। कुन समान कति जलेको छ कसरी थाहा पाउने? कति क्षति भयो कसरी थाहा पाउने? कुन सामान फेरि प्रयोग गर्न सकिन्छ कसरी थाहा पाउने? उनले भने, ‘त्यसकारण पनि केही दिन ढिलो कारखाना सुरु भएको हो।’

आगो लागेको १२ दिनपछि फोहोर उठ्न थाल्यो। मेसिनसम्म जानसक्ने स्थिति बन्यो। प्राविधिक टोलीले मेसिनको कस्तो अवस्था छ जाँच्न थाल्यो। करिब आगो लागेको २० दिनपछि खराब अवस्थाका मेसिन मर्मतको काम सुरु भयो।

नयाँ सुरुवात


उनीहरुले मेसो पाएनन् तर कहिल्यै अलमलिएनन्। खरानी टकटकाए र फेरि नयाँ सुरुवात गरे। सुरुवात यति चाँडै होला भनेर कसैले पनि सोचेका थिएनन्। भारतबाट आएका प्राविधिकहरुले अरु नै विकल्प सुझाएका थिए। तर कारखानाकै प्राविधिकको टोलीले जतिसक्दो चाँडो हामी नयाँ सुरुवात गछौँ भनेको थिए। मुस्कुराउँदै भट्टराईले भने, ‘उहाँहरुले गरेर देखाउनु भयो।’

‘मेसिन मर्मत गर्न समय लाग्यो,’ भट्टराईले भने, ‘नयाँ मेसिन आउन समय लाग्यो।’

कारखानामा उत्पादन असोजको ७ गतेबाट सुरु भयो।

अहिले पनि कम्पनी आधा चलिरहेको छ। बिस्कुटको दुई वटा प्लान्टमध्ये एउटा मात्र चलिरहेको छ। कारखानाका दुई वटा प्लान्ट पहिला १६ घण्टा चल्थे, अहिले एउटा प्लान्ट २४ घण्टा चलिरहेको छ।

‘पहिला हामी करिब ५०० टन बिस्कुट उत्पादन गर्थ्यौँ,’ भट्टराईले भने, ‘अहिले करिब ३५० टन आसपासमा उत्पादन गरिहेका छौँ।’

भट्टराईका अनुसार पहिला ४० प्रकारका बिस्कुट बन्थे। अहिले मात्र १० वटा बनिरहेका छन्।

कारखानाबाट अहिले बिस्कुट, चकलेट, ललिपप, ओट्स, चोको, कर्नफ्लेक्स बजारमा गएका छन्। ‘आशा गरौँ अबको दुई महिनामा पूर्ण रुपमा कारखाना सञ्चालनमा आउने छ,’ भट्टराईले भने, ‘हामी पुरै ५०० टन उत्पादन गर्न सक्षम हुनेछौँ।’

‘हामी साथ थियौँ’


‘म यहाँ आएको मात्र ७ वर्ष भयो। मलाई त यो कारखाना आत्मिय लाग्छ भने यहाँ ४३ वर्षदेखि काम गरिरहेका साथी हुनुहुन्छ,’ भावुक हुँदै भट्टराईले भने, ‘जिन्दगीको ४३ वर्ष एउटै संस्थामा काम गर्नु ‘नट अ जोक’।

‘उहाँहरु निराश हुनुहुन्थ्यो। नेबिकोसँग हाम्रो सम्बन्ध यतिमै सकिने भयो भन्ने उहाँहरुलाई लागेको थियो,’ उनले भने, ‘उहाँहरुका लागि पनि हामीले दिन रात काम गर्‍यौँ।

काम गर्ने मजदूरको रुपमा मात्र उनीहरु त्यो दुःखद् समयमा साथमा थिएनन्। सम्बन्ध त्योभन्दा माथिको थियो। सबै एकसाथ भएर लडे त्यतिबेलाका हरेक समस्यासँग। कसैले रात भनेन, दिन भनेन। उनले भने, ‘रातको दुई बजे होस् वा बिहानको ५ बजे सबै जना उपलब्ध हुन्थे।’

हामीलाई बोर्डले पनि राम्रो साथ दियो। उनले भने, ‘हामीले मर्मत त गरौँला तर त्यसले नतिजा कस्तो दिन्छ भन्ने निश्चित थिएन।’

भारतबाट आएका प्राविधिकले तुरुन्त सञ्चालन हुन सक्दैन भने। ‘सायद उहाँहरुले दिनको ८ घण्टाको हिसाब लगाएर छिटो हुँदैन भन्नुभयो होला तर हामीले त्योभन्दा धेरै समय दियौँ,’ उनले भने, ‘त्यतिबेला साथीहरु १८ घण्टासम्म मर्मतका लागि खटिएका छन्। त्यसैले त आज हामीले कारखाना फेरि सुरु गर्न सकेका छौँ।’

नेबिको


‘सायद नेपालमा बिस्कुट खाने परम्पराको विकास हामीले गरेका हौँ,’ हाँस्दै उनले भने।

२०२१ सालमा स्थापना भएको नेबिकोले बितेका ५७ वर्षमा धेरै उतारचढाव भागेको छ। योसँगै खुलेका धेरै कम्पनी अहिले अस्तित्वमा छैनन्। भट्टराई भन्छन्, ‘हामी पनि कुनै समय बन्द हुने अवस्थामा पुगेका थियौँ। तर फेरि आफ्नै खुट्टामा उभिन सफल भयौँ।’

बीचमा केही उत्पादन बन्द भए। केहीपछि फेरि सुरु भए।

माओवादी जनयुद्धका दिन नेबिकोका लागि कठिन थिए। २०६५ सालताका बन्द गर्ने कि भन्ने राय लगानीकर्ताले दिन थाले। तर सबैको सुझाव आयो- नयाँ लगानी भित्र्याएर अगाडि बढ्ने। त्यसपछि नयाँ नेतृत्व नेबिकोले पाएको छ। र पुराना लगानीकर्ता पनि साथमै छन्।

२०६५ पछि कम्पनीले विभिन्न ठाउँमा तिर्नुपर्ने दायित्व पूरा गर्‍यो। २०७२ ताका कम्पनी नाफामा पुगिसकेको थियो। नयाँ प्लान्ट थपियो। उत्पादन बढ्न थाल्यो। २०७४ मा भैरहवामा नयाँ प्लान्ट थपियो। अहिले हेटौँडामा कारखाना निर्माणको काम चलिरहेको छ। भट्टराईले भने, ‘सायद तीन महिनामा उत्पादन सुरु हुन्छ।’

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्