सर्वोच्च र स्थानीयको अवरोधले तीव्र गतिमा काम गर्न पाइनँ – कुलमान घिसिङ

फाइल तस्बिर।

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतको आदेश र स्थानीयको अवरोधले गर्दा प्राधिकरणले तीव्र गतिमा काम गर्न नसकेको दुःखेसो पोखेका छन्।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको शुक्रबार भएको १२औँ महाधिवेशन उद्घाटन समारोहमा उनले विद्युत खपत बढाउन प्रशारणलाइनको सुदृढीकरणको काममा सर्वोच्च र स्थानीयबाट अवरोध भइरहेको बताएका हुन्।

उनले देशमा १५ हजार मेगावाटको मागसम्म धान्न सक्ने गरी प्रशारणलाइन बनाउनेतर्फ प्राधिकरण अघि बढिरहेको जानकारी दिए।
विद्युतीय सवारीसाधन र विद्युतीय चुल्होलगायत विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने गरी प्राधिकरणले काम गरिरहेको उनले स्पष्ट पारे।

प्रवन्ध निर्देशक घिसिङले प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाइरहेकोसमेत बताए। प्राधिकरणले ठूला आयोजना सुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजनासँगै ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने उनले बताए।

माथिल्लो अरुण र अरुण चौथो गर्दा करिब १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै घिसिङले कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको जानकारी दिए।

‘आजको चुनौती भनेकै माग बढाउने र विद्युत खपत बढाउने रहेको छ’, उनले भने, ‘वर्षात्को कारण पनि भारततर्फबाट आएको विद्युतको माग केही कम भएको छ। अहिले हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ।’

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्