बेलबारी गोल्ड कप कार्तिक ११ गतेबाट सुरु हुने

मोरङ- कोभिड १९ महामारीका कारण अघिल्लो वर्ष रोकिएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ कार्तिक दोस्रो साताबाट हुने भएको छ।

विराटनगरमा प्रतियोगिता आयोजक डाँगिहाट युथ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीको सहभागिता रहने जनाएको छ।

क्लब अध्यक्ष विक्रम वान्तवा राईले प्रतियोगिताका लागि यसपटक करिब ४० लाख रुपैयाँ खर्च हुने जानकारी दिए। प्रतियोगितामा प्रायोजक, विज्ञापन तथा टिकटबाट ४५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताएका अध्यक्ष राईले चौथो संस्करणमा ५ लाख रुपैयाँ फाइदा हुने अनुमान गरेका छन्। उनले प्रतियोगिताबाट बचत रकम स्थानीय खेलकुद क्षेत्र र खेलाडीको लागि खर्च गरिने समेत बताए।

उनका अनुसार प्रतियोगितामा आयोजक डिवाईसी मोरङसँगै सशस्त्र प्रहरी बलको टोली एपीएफ काठमाडौँ, हिमालयन शेर्पा क्लब, च्यासल क्लब ललितपुर, रोलिंग क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, रा फुटबल क्लब राजारानी धनकुटा र भारतको सिलिगुढीस्थित आमुक्त परिवार वेष्ट बंगालको सहभागिता रहने छ।

पत्रकार सम्मेलनका क्रममा चौथो संस्करणको विजेता टोली ५ लाख रुपैयाँ र ट्रफी हात पार्ने बताएका अध्यक्ष राईले उपविजेता टोलीले २ लाख ५० हजार प्राप्त गर्ने जानकारी दिए।

प्रतियोगिताको पहिलो खेल ललितपुरस्थित च्यासल क्लब र झापा धुलाबारीको रोलिंग फुटबल क्लब बीच हुनेछ। कार्तिक ११ गतेबाट लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा सुरु हुने प्रतियोगिताको उपाधि भिडन्त १८ गते हुनेछ।

प्रतियोगिताका लागि मुख्य प्रायोजक बुद्ध एयरले ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। त्यसैगरि प्रतियोगिताको मुख्य सहयोगी बेलबारी नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गर्ने आयोजक क्लबका सचिव शम्भु बस्नेतले जानकारी दिए।

यसअघि २०७६ सालमा सम्पन्न तेस्रो संस्करणमा भारत सिलिगुढीस्थित रोयल क्लब वेष्ट बंगालले धरान फुटबल क्लब सुनसरीलाई ४–१ गोलले पराजित गर्दै उपाधि चुमेको थियो। सो क्रममा विजेता टोली रोयलले ५ लाख रुपैयाँ र ट्रफी हात पारेको आयोजक डाँगिहाट युथ क्लबले जनाएको छ।

त्यसअघि दोस्रो संस्करणमा मोरङ फुटबल एकेडेमीले झापाको विर्तामोड युनाइटेडलाई ६-० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको थियो। सो संस्करणमा एकेडेमीले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी हात पारेको थियो।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्