इटालीको राष्ट्रिय टोलीबाट खेलिसकेका विकाश च्यासल युथ क्लबमा आबद्ध

तस्बिरःरविन आचार्य/देेश सञ्चार।

काठमाडौँ- इटालीको उमेरस्तरको राष्ट्रिय टोलीबाट खेलिसकेका विकाश मेराग्लियालाई च्यासल युथ क्लबले आबद्ध गरेको छ।

आसन्न शहिद स्मारक ए डिभिजन लिग फुटबलका लागि च्यासलले विकाशलाई आबद्ध गरेको हो। क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी मेराग्लियालाई सार्वजनिक गरेको छ।

१८ वर्षीय विकाशले इटालीको यू-१६ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनी ६ वर्षको उमेरमा परिवारसँग इटाली पुगेका थिए। उनी विंगरका रुपमा खेल्ने गर्छन्। उनले १४ वर्षको उमेरमा सन् २०१७ मा युक्रेनको यू-१६ राष्ट्रिय टोलीविरुद्ध इटालीबाट प्रतिनिधित्व गर्दै दुई खेल खेलेका थिए।

उनीसँग इटालियन सिरि ए क्लब एटलान्टाको यू-१७ र यू-१९ क्लबबाट खेलेको अनुभव पनि छ।

कात्तिक २९ गतेदेखि ए डिभिजन लग सुरु हुँदैछ।  प्रतियोगिताको विजेताले ७५ लाख रुपैयाँ पाउने छ। दोस्रोले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउने छन्। तयारीबापत सबै १४ क्लबले २/२ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।

तालिकाका अन्तिम दुई टोली बी डिभिजनमा घटुवा हुनेछन्।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्