मंसिरमा २१ गतेदेखि काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी मङसिर २१ देखि २३ सम्ममा काठमाडौँमा पुनःनिर्माण सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने बारे जानकारी दिँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञावलीलगायत। तस्वीरः प्रदीपराज वन्त/ रासस

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। प्राधिकरणले मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो।

‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठी गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको सम्बन्धमा नेपालले प्राप्त गरेका अनुभव र सिकाइ अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने र आगामी दिनमा नेपाललाई विपदबाट बचाउन नेपालको मार्गचित्र के हो भन्ने विषय प्रस्तुत गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए।

उनले भने, ‘हामीले दुईवटा मूल उद्देश्य राखेर यो सम्मेलन गर्दैछौँ। एउटा, हामीले प्राप्त गरेका अनुभव र सिकाइ अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने। सिकाइ साटासाट गर्ने। त्यसका साथै हामीले प्राप्त गरेका अनुभव भावी पुस्ताका निम्ति डकुमेन्टेसन गरेर छाड्ने, जसले गर्दा भोलिका दिनमा यस्ता खालका विपद् आउँदा कसरी काम गर्दा उपयुक्त हुन सक्दोरहेछ। कहाँ कमजोरी भयो?, कहाँ राम्रो गर्न सक्यौँ? के कुरामा सुधार गर्नुपर्ने होला?, यी सबै कुराबारे बताउन सकौँ। अर्को, भोलिका दिनमा नेपाललाई सबै प्रकारका विपद्बाट सुरक्षित कसरी बनाउने? त्यसका निम्ति हाम्रो रोडम्याप के हुन सक्छ? हाम्रो मार्गचित्र के हो? हाम्रो कार्यक्रम के हो? यसबारे पनि हामीले त्यो कार्यक्रममा प्रस्तुत गर्नेछौँ।’

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्