जनकपुरधाममा तीनदिने प्रदेशस्तरीय महिला हस्तकला मेला आयोजना गरिने

जनकपुरधाम – जनकपुरधाममा तीनदिने महिला हस्तकला मेला तथा प्रदर्शनी गरिने भएको छ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कँदै गएको बेला देशभित्रै उत्पादन भएका वस्तुको बजारलाई चलायमान बनाउन उक्त आयोजना गर्न लागिएको हो।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा जनकपुरधाम उपमहानगरपालकाको सहआयोजनामा कात्तिक १२ गतेदेखि १४ गतेसम्म प्रदेशस्तरीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी आयोजना हुने नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए।

स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा महिला उद्यमीले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको उनले बताए।

शुक्रबार पत्रकार सम्मेलनमा उपाध्यक्ष शाक्यले जनकपुरधामको गोपाल धर्मशालामा हुने प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमी तथा बाहिर जिल्लाका सहभागीसमेत रहने बताए।

उनका अनुसार सो प्रदर्शनीमा ७० देखि ९० वटा स्टल राखिनेछ भने स्टलको शुल्क लाग्ने छैन। प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहना, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तु राखिनेछ।

मेलामा करिब २० लाख खर्च हुने उपाध्यक्ष सनमले बताए। यस मेलामा २५ हजार आगन्तुक आउने अनुमान गरिएको छ।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्