जुवा खालबाट १ लाख ७१ हजार नगदसहित १२ जना पक्राउ

सांकेतिक तस्विर।

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा खालबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्सागढी नगरपालिका–९ बडेर्वास्थित नन्दलाल दासको गाईगोठमा जुवा खेलिरहेको अवस्थामा उनीेहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का कोशिया ठाकुर, वीरेन्द्र सहनी, सुरेश साह वडा नम्बर १ का गोवर्धन राम, वडा नम्बर २ का मोतीलाल चौधरी, सखुवा प्रसौनी गाउँपालिका–१ का दिनेश दास थारू, प्रमोद ओझैया, राकेश ख्वास थारू, पटेर्वा सुगौली गाउँपालिका–१ का ज्वाला गिरी छन्।

यसैगरी, बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का प्रमोद राउत, नन्दु मुखिया र सिम्रौनगढ नगरपालिका १ का अनिल जयसवाल रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

जुवाको खालबाट प्रहरीले १ लाख ७१ हजार १ सय ६२ रुपैयाँ र १७ बुक ताससमेत बरामद गरेको छ। पक्राउ परेका सबै जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

साथै, चाडपर्वका बेला जुवातास खेल्ने, खेलाउनेजस्ता सामाजिक विकृतिजन्य कसुर नगर्न तथा कुनै पनि स्थानमा भइरहेको थाहा भएमा प्रहरीलाई सूचना दिनसमेत जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्