जनकपुरमा खानेपानीका कर्मचारीमाथि भएको दुर्व्यवहारविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ – नेपाल इन्जिनियर्स एसोसिएसन, बागमती प्रदेश र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

माइतीघर मण्डलामा शुक्रबार भएको विरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एसोसिएसन, बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सिडिई राजेश कुशवाहलगायत कर्मचारीमाथि भएको आपराधिक गतिविधिविरुद्ध प्रदर्शनी गरेका हुन्।

प्रदर्शनमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देशक र कानुनको धज्जी उडाएको बताए।

उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गरे। उनले जनकपुरमा भएको घटना दानवीय भएको भन्दै आफूलाई पुनः ढुंगेयुगमा फर्किएको भान हुन थालेको बताए।

अध्यक्ष पोखरेलले भने, ‘यो पहिलो घटना होइन, निजामती कर्मचारीको महत्व सरकारले, मन्त्रीले, नेताले, स्थानीय प्रतिनिधिले बुझ्न सक्नुभएन, अहिले कर्मचारीमाथि चौतर्फी आक्रमण भइरहेको छ, कानुनको धज्जी उडेको छ, यो क्रियाकलापमा सामेल भएका सबै अराजक तत्वप्रति म घोर निन्दा र भत्र्सना गर्दछु, कानुनबमोजिम कडाभन्दा कडा कारबाहीको माग गर्दछु।’

प्रदर्शनमा नेपाल इन्जिनियर एसोसिएसन बागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको व्यवहार हिंस्रक भएको बताए।

उनले यो घटनालाई गम्भीरतासाथ लिएर आपराधिक गतिविधिमा संलग्न र नाइकेलाई कारबाही गर्नुपर्ने बताए। उनले कार्यालय प्रमुखमाथि जनमत पार्टीका अध्यक्ष डा सिके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक कर्मचारीलाई सहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताए।

अध्यक्ष बन्जाडेले तीन दिनभित्र अपराधमा संलग्न र नाइकेलाई कारबाही नगरे इन्जिनियरहरूको शक्ति देखाउने चेतावनी दिए।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहलाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए। उनीहरूले जनकपुर–८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुव्र्यवहार गरेका थिए।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्