प्रदेश १ मा गत २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले शुक्रबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ४ सय ४६ जनाको पीसीआर परीक्षणमा ६३ र १ सय ७६ जनाको एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

झापाको भद्रपुरमा १०, बिर्तामोडमा ९, दमक, अर्जुनधारा र शिवसताक्षीमा समान ३, हल्दिबारी र कनकाईमा समान २ र गौरादहमा १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
मन्त्रालयले पहाडी क्षेत्रतर्फ, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको जनाएको छ।

त्यस्तै, शुक्रबार प्रदेश १ मा ५३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष छन्। कोरोना संक्रमणबाट प्रदेशमा २ महिला र १ पुरुष गरी ३ जनाको मृत्यु भएको छ।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्