आफ्नै लागि १० बुँदे कार्यान्वन गर्न गराउन नसकेपछि भीम रावलले दिए राजीनामा

काठमाडौँ – दश बुँदे सहमति कार्यान्वय गर्न गठित कार्यदलको संयोजकबाट भीम रावलले राजीनामा दिएका छन्।

पार्टीको अन्तरविरोध हल गर्न एमालेका दुई पक्षबीच गत असार २७ गते भएको सहमति कार्यान्वयनका लागि रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो।

रावलले आफ्नै हकमा समेत सहमति कार्यान्वयन गराउन नसकेपछि संयोजकबाट राजीनामा दिएका हुन्। दश बुँदेमा पार्टीलाई २०७५ जेठ २ गतको अवस्थामा फर्काउने उल्लेख छ। त्यसअनुसार उनी सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुनुपर्ने भए पनि लेखराज भट्टलाई अध्यक्ष ओलीले जिम्मेवारी दिएका छन्।

शुक्रबारको स्थायी कमिटि बैठकमा रावलले राजीनामा घोषणा गरेका हुन्। बैठकपछि उनले भने, ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बसिरहनुको कुनै औचित्य छैन। मैले राजीनामा दिएको छु।’

अध्यक्ष ओलीले बुधबार मात्रै अब दश बुँदेको औचित्य सकिएको घोषणा गरेका थिए। त्यसलाई गीतको संज्ञा दिँदै उनले त्यो बजाइरहन आवश्यक नभएको टिप्पणी गरेका थिए।

ओलीको उक्त भनाइको अन्तिम समयमा माधव नेपाललाई छाडेर ओलीतिर लागेका नेताहरुले बिहीबार र शुक्रबारको बैठकमा आपत्ति जनाएका छन्।

सचिव प्रदीप ज्ञवालीले भने आउँदो केन्द्रीय कमिटिको बैठक अघिसम्म दश बुँदे कार्यान्वयन भइसक्ने दाबी गरे।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्