विराटनगरमा बाढीबाट ज्यान गुमाउनेका परिवारलााई महानगरले ५० हजार रुपैयाँ दिने

मोरङ – सोमबारदेखि परेको अविरल वर्षाका कारण विराटनगर महानगरपालिकामा ३ जनाको मृत्यु भएको छ।

महानगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा मेयर भीम पराजुलीले सोमबारपछि विराटनगरमा भएको बाढी वितण्डामा ३ जनाको मृत्यु भएको जानकारी दिए।

बाढीकै कारण महानगरका १९ वटा वडामा गरी २ हजारभन्दा बढीको घरपरिवार प्रभावित भएको उनले बताए। यस क्रममा महानगरले मृतक परिवारलाई तत्काल ५० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराइने बताए।

संघ र प्रदेश सरकारबाट राहत आउन समय लाग्न सक्ने बताएका मेयर पराजुलीले महानगरले नै पीडित परिवारलाई आइतबार उक्त रकम उपलब्ध गराउने जानकारी दिए। यस क्रममा विराटनगर ५ का सञ्जय राईको शव भारतीय सीमा जोगबनीको रेल्वे स्टेसन नजिक फेला परेको थियो।

प्रहरीले विराटनगर र सुनसरीको सीमा भएर बग्ने केसलिया खोलामा आएको बाढीले बगाएर शव त्यहाँ पु¥याएको हुन सक्ने अनुमान गरेको छ।
त्यसैगरी, विराटनगर–१२ का सञ्जीव कामतको सिंघिया खोलास्थित परोपकार घाटमा र वडा नम्बर १२ का इशान भुजेलको बाढीमा डुबेर मृत्यु भएको हो।

महानगरले बाढी र डुवानबाट प्रभावितलाई संघीय सरकारले १५ हजार तत्काल राहत उपलब्ध गराउने भएकाले वडा कार्यालयमा जानकारी गराउन मेयर पराजुलीले आग्रह गरे।

उनका अनुसार बाढी र डुबानका कारण विस्थापित भएकाहरूलाई महानगरले खानपानको व्यवस्थापन गरिरहेको छ।

त्यसैगरी, महानगरको विपद् व्यवस्थापन शाखाले डुबान र बाढीबाट प्रभावितको तथ्यांक निकाल्ने कार्य भइरहेको जनाएको छ। बाढीबाट वडा नम्बर ९ र १० मा कम क्षति पुगे पनि बाँकी विभिन्न १७ वटा वडामा बढी प्रभाव परेको शाखाले जनाएको छ।

शाखाको प्रारम्भिक आँकडाअनुसार दुई दिनको अविरल वर्षाका कारण महानगरपालिकामा २ हजार ६ सय ९० घरपरिवार प्रभावित भएका छन्।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्