छायाँकनको क्रममा चलाएको गोली लागेर सिनेम्याटोग्राफरको मृत्यु, निर्देशक घाइते

अभिनेता एलेक बाल्डविन।

अमेरिकाको न्यू मेक्सिकोस्थित एक चलचित्रको छायाँकनको क्रममा अभिनेताले चलाएको ‘प्रप गन’ को गोली लागेर सिनेम्याटोग्राफरको मृत्यु भएको छ।

अभिनेता एलेक बाल्डविनले न्यू मेक्सिकोमा रहेको सेटमा चलचित्र छायाँकनको क्रममा प्रहार गरेको गोली लागेर सिनेम्याटोग्राफर हालना हट्चन्सको मृत्यु भएको हो। उनको उपचारको क्रममा ज्यान गएको जनाइएको छ। ४२ वर्षकी हालना चलचित्र रस्टको डिरेक्टर अफ फोटोग्राफीका रुपमा कार्यरत थिइन्।

स्थानीय समयअनुसार बिहीबार अपराहन्न घटना भएको हो। घाइते भएकी उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो तर उपचारको क्रममा मृत्यु भयो। चलचित्रका निर्देशक पनि घाइते छन्।

‘प्रप गन’ मिसफायर हुँदा दुर्घटना भएको अभिनेता बाल्डविनका प्रवक्ताले बताएका छन्। अभिनेता बाल्डविनले घटनाबाट आफू निकै दुःख र आश्चर्यमा रहेको बताएका छन्। आफू हालनाका श्रीमानसँग सम्पर्कमा रहेको र अनुसन्धानमा प्रहरीलाई सबै किसिमको सहयोग गर्ने बताएका छन्। प्रप गनमा कस्तो प्रकारको प्रोजेक्टाइल थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

कात्तिक ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्