बाटो बिराइ हिँडेकालाई तान्नु पर्ने हो कि
नमान्नेलाइ किला ठोकी बान्नु पर्ने हो कि।।

बास भत्किए सबैको होला चिल्लिबिल्लि
ढल्नु अघि दरो निदाल छान्नु पर्ने हो कि।।

धन्सारमा अझै पनि मुसा लाग्यो भन्छन्
कस्का भुँडी चर्किए कति जान्नु पर्ने हो कि।।

पढे लेखे पाटो बेची उँट धपाउन पुग्छन्
ल्याप्चेलाई दुइहात जोडी मान्नु पर्ने हो कि।।

मोकामा चौका हान्दा टाँडमा पुग्छन् कोही
तिनलाई नै सबका नाइके ठान्नु पर्ने हो कि।।

मुखले भन्दा सोझिएर फर्किए भने जाती
नाइँनास्तिमा कटबाँसले हान्नु पर्ने हो कि।।

कात्तिक ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्