प्रचण्डकै सामु उनलाई चुनाैती दिने प्रतीक

प्रतीक कार्की

काठमाडौँ – ‘तीन वर्षको हुँदा मेरो आमाबुवा मलाई हजुरआमासँग छाडेर युद्धमा होमिनुभयो। म चार वर्षको हुँदा आमाबुवा दुवै गुमाएँ। म अभिभावकविहीन भएँ।

बुवाले हजुरआमालाई भन्नुहुन्थ्यो रे, ‘म नरहे पनि मेरा छोराछोरीका लागि यो पार्टी छ, पार्टीले हेर्छ।’ बुवाले गरेको अपेक्षा कति पूरा भयो त्यो सबै भोगेर आएँ।’

गएको असोज १४ गते राष्ट्रिय सभागृहको हलमा अनेरास्ववियु क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनमा प्रतीक कार्कीले यसो भनिरहँदा हल शान्त थियो। मञ्चमा बसेका प्रचण्ड भावुक हुँदै सुनिरहेका थिए।

प्रचण्डतिर हेर्दै कार्कीले भने, ‘कमरेड प्रचण्डले त्यो आन्दोलनको नेतृत्व गरिरहनुभएको थियो। ‘मजस्ता थुप्रै साथी छन्, जसले त्यतिबेला बुवा वा आमा गुमाउनुभयो। युद्ध अन्त्य भएको यत्तिका वर्ष भयो’, प्रचण्डतिर इंगित गर्दै उनले भने, ‘ती योद्धाका सपना कति पूरा भए? त्यो हामी सबैले देखेकै छौँ। तर, हुर्किंदै गरेका हामीलाई सधैँ दयाभावले हेरियो। हामीलाई दया चाहिएको होइन। बुवाआमा गुमाएकामा हामीलाई गर्व थियो। हामीलाई दया होइन, संगठनमा स्थान दिनुपर्छ।’

शान्त हलमा ताली गुञ्जियो। प्रचण्ड एकाग्र भएर सुनिरहेका थिए।

कार्कीले प्रचण्डको आलोचना सुरु गरे, ‘तपाईं चुनवाङ, थवाङ जानुस्। सहिदको घरमा जानुस्। सीमित मान्छेको घेरामा बसेर पार्टी सदृढ हुँदैन।’

हामी सहिद सन्ततिको एउटै स्वर छ, ‘यो सम्मेलनमा फगत एउटा अमुक व्यक्तिलाई नेतृत्व सुम्पिने काम नहोस्। कुनै नेताको पछाडि लागेर उनीहरूको स्वकीय हुन हिँडेका मानिसले संगठन हाँक्न सक्दैनन्। आज यो हलमा मात्र ५९ जना सहिद सन्तति रहेछौँ। हामी सहिद सन्तति भएकै कारण संगठनमा भूमिका चाहिएको छैन। हामी हरेकसँग प्रतिस्पर्धा गर्न तयार छौँ। तर सीमित नेताको पछाडि लागेकाहरूमात्र नेता हुने पद्धति अन्त्य गरेर हामी पनि नेतृत्वमा पुग्ने वातावरण बन्नुपर्छ।’

असोज १४ गते राष्ट्रिय सभागृहको हलमा अनेरास्ववियु क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनमा प्रतीक कार्कीले गरेकाे प्रचण्डकाे आलाेचना।

कार्कीले यसो भन्दै गर्दा मुसुमुसु हाँसिरहेका प्रचण्डले आफ्नो भाषणमा व्यंग्यात्मक शैलीमा भने, ‘कमरेडले जिम्मेवारी चाहिएको छ भन्नुभयो। मैले रञ्जित तामाङलाई बोलाएर उहाँहरूलाई अलि राम्रै जिम्मा दिनुपर्‍यो भनिसकेको छु।’

कार्कीले भनेजस्तै सम्मेलनबाट प्रचण्डकै नजिक मानिएकी पञ्चा सिंह नेतृत्वमा छानिइन्। अन्य पदाधिकारीमा भागबन्डा मिलेन। असोज १८ गते पञ्चा सिंह अबिर र माला लगाएर काठमाडौँको कार्की व्यांक्वेटमा विजय जुलुस मनाइरहँदा असुन्तष्ट पक्षले कुर्सी फालाफाल गरे।

उता संगठनको बन्दसत्र चलिरहेका बेला कार्कीलाई मैले असोज १७ गते माइतीघर चोकमा भटेको थिएँ। जहाँ उनले थुप्रै पटक संगठनका लागि नारा लगाएका थिए। नारा प्रचण्डका लागि थियो। पार्टीका लागि थियो।

०५९ सालको एकदिन गाउँभरि हल्ला चल्यो, दिलकाजी मारियो। तर, एकदिन बिहान ३ बजेतिर कार्कीका बुवा र आमा टुप्लुक्क घर आइपुगे।
उनका बुवा माओवादीको खोटाङ जिल्ला सेक्रेटरी थिए। उनलाई सेनाले खोजेको खोजेयै थियो। ओढारमा लुकेर बसेका उनीसहितको टोलीलाई सेनाले भेट्न सकेन।

०५८ सालको कुरा हो। कार्की भन्छन्, ‘म ३ वर्षको थिएँ। हजुरआमाको काखमा छाडेर बुवाआमा भूमिगत हुनुभयो। बुवाका कारण आफूलाई पनि सेनाले सताउन थालेपछि आमा बुवाको पछि लाग्नुभएको थियो।

दिलकाजी घर आउँदा सबै अचम्भित थिए। खुसी भए। तर त्यो खुसी धेरै दिन टिकेन। सेनाले पक्रेर केही परको खोलामा लगे। सल र डोरीले बाँधे। आत्मसमर्पण गर भने। सबै कुरा भन हामी छोडिदिन्छौँ भने।

कार्कीले भने, ‘बुवा मान्नुभएन, उनीहरूले मारिदिए। बुवाआमालाई बाँधेको डोरी र सल पछिसम्म पनि मेरो घरमा थियो।’

प्रतीक कार्कीले ठूलो बुवाको छोरा दाइकोमा दिक्तेलमा बसेर पढे। पछि काठमाडौँ आए। ल क्याम्पसमा भर्ना भए।

चियाको सुर्को तान्दै उनले भने, ‘म राजनीतिमा आउनुको कारण मेरो गाउँ हो। मलाई दिलकाजीको छोरा भनेर चिन्छन्।’ ‘तँ दिलकाजीको छोरो होस्। तँ जिन्दगीमा जेसुकै बने पनि तेरो झण्डा बोकेर हिँड्न मन छ मलाई, गाउँको एकजना अंकलले भनेको सम्झन्छन् उनी।

मलाई त्यो कुरा भित्रैदेखि गढ्यो। उनले भने, ‘मेरो परिवारको राजनीतिक पृष्ठभूमिका कारण म राजनीतिमा लागेँ। नेपाल ल क्याम्पसमा सहसचिव भएँ। त्यसको दुई वर्षमा अध्यक्ष भएँ।’

मेरा आमाबुवाले सहादत पाउनुको एउटा कारण थियो। भावुक हुँदै उनले भने, ‘त्यो सामान्य कुरा थिएन। ठूलो केही गर्न नसके पनि उहाँहरूको बाटो पछ्याएको छु।’

उनलाई लाग्छ बुझिएन भने राजनीतिप्रति वितृष्णा हुन्छ। तर, राजनीतिमा पसेन भने जुन कुरा हामीलाई मन परेको हुँदैन, त्यहीँबाट शासित हुनुपर्छ।

उनी भन्छन्, ‘परिवर्तन सबै कुरामा भयो भन्न सकिँदैन। तर, जनयुद्धले केही परिवर्तन गरेको छैन पनि भन्न मिल्दैन।’

कार्की भन्छन्, ‘हिजो जनयुद्धमा साँच्चै समाजमा पीडित मान्छेहरू लागेका थिए। भलै ती आवाजको आज कतै प्रतिनिधित्व भएको छैन।’

आज उनीहरूले के पाए ? मान्छेको अवस्था फेरि पहिलाको जस्तै भएको छ। जुन परिवर्तनका लागि उनीहरू लडेका थिए।

उनलाई लाग्छ, सामान्य मानिसको हातमा राजनीति छैन। राजनीति र शक्ति फेरि पुँजीपतिको हातमा गएको छ। नेता पार्टी होइन, पार्टी भनेको सामान्य मान्छे हुन्। नेता भनेका त मात्र टुप्पा हुन्।

विद्यार्थी आन्दोलन

कार्की भन्छन्, ‘हाम्रो राजनीति औपचारिकतामा सीमित छ। झन् विद्यार्थी राजनीति त ट्रेड युनियनको राजनीतिजस्तो भएको छ। अहिलेको समयमा हामी मात्र फगत राजनीतिको खुड्किलो भएका छाैँ।’

‘हाम्रो विचार र कार्यक्रम कहिल्यै मिल्दैन। पार्टी चुनावलाई मात्र सोचेर अगाडि बढिरहेका छन्। हामी त्यसमा कहिल्यै ‘फिट’ हुन सक्दैनौँ।
हाम्रो संगठनको नामै क्रान्तिकारी। यो नामले पनि फरक हुनुपर्छ भन्ने हो। भइरहेकै संगठनजस्तै हुने हो भने हामी किन चाहियो। हामीमा धेरै ठूलो रुपान्तरण आवश्यक छ।’

भन्छन्, ‘हामी कसलाई अध्यक्ष बनाउने ? र फेरि कसलाई अध्यक्ष बनाउने भन्नेमा ध्यान दिन्छौँ कार्यक्रममा भन्दा। हरेक राजनीतिक संगठनमा यो सबैभन्दा ठूलो समस्या हो।’

वास्तवमा अहिले भइरहेका हरेक घटना तथा क्रियाकलापलाई सही बोटोमा डोर्‍याउनुपर्ने उनलाई लाग्छ। यस्तो होइन, यस्तो हो भनेर झकझक्याउनुपर्ने ठान्छन् उनी। त्यो काम युवाले गर्नुपर्ने उनको धारणा छ।

कार्की मान्छन्, ‘हामीसँग आवाज उठाउने आधार छ किनभने यो परिवर्तनका योद्धा हामी पनि हौँ। अहिलेका नेताले त्यो स्थान गुमाइसके। प्रचण्ड अब नेतृत्वमा कति नै रहलान् र! अबको नेतृत्व हामीले नै सम्हाल्नुपर्छ। यस विषयमा हामी र हामीपछिका पुस्ताले आवाज उठाउनुपर्छ।
तर हामी यो सबैबाट टाढा छौँ।’

उनी थप्छन्, ‘आज विद्यार्थीका समस्या अरूले हामी समाधान गर्छौं भन्दै हिँडेका छन्। तिनले हाम्रो समस्या कसरी समाधान गर्न सक्छन्?’

अहिले विद्यार्थीको नेता पार्टीले छानिदिन्छ। त्यसका लागि नेतृत्वका पछाडि धेरै साथी लाग्छन्। जसकारण हामीले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको उनलाई लाग्छ।

उनको विचारमा हामी पार्टीको पछाडि हिँड्ने होइन, पार्टीलाई तानेर युवामाझ ल्याउनुपर्छ। युवा भनेको पार्टीको शक्ति हो। आधार हो।

प्रचण्डले गर्न नसकेको भन्दा पनि हामीसँग डराएका छन्। उनले थपे, ‘किनभने उनले मजस्तै परिवारलाई केही गर्न सकेनन्। त्यसैले मैले अस्तिको कार्यक्रममा भनेको हामीसँग डराउन आवश्यक छैन। हामी सक्षम भइसक्यौँ। अब त प्रचण्डसँग कुनै अपेक्षा नै छैन।’

अब त यो आन्दोलनको नेताहरूबाट आश छैन। निरास हुँदै उनले भने, ‘मेरो बुवासँगैका साथीहरू अहिले ठूला नेता छन् तिनले पनि त कसका लागि के गरे?’

उनीहरूले एउटा समूह बनाएका छन्। जसले युद्धमा आफ्नो परिवारको सदस्य गुमाएको छ। कार्कीका अनुसार हामी एकअर्कालाई कसरी सहयोग गर्न सकिन्छ उनीहरू छलफल गर्छन्। म ल फर्ममा काम गर्छु। अरु थुप्रै साथी छन्, जो काम गरिरहेका छन्।

उनलाई लाग्छ समाज आन्दोलिन छैन अहिले। समाज बोल्छ, असन्तुष्टि पोख्छ तर एक्सनमा आउन सक्दैन। जब संगठित आन्दोलन हुन्छ, त्यसले परिवर्तन ल्याउँछ। वास्तवमा हाम्रो राजनीति सही ट्र्याकमा छैन। त्यसका लागि सबैले बोल्नुपर्ने जरुरी ठान्छन् उनी।

प्रचण्डप्रति उनको ठूलो असन्तुष्टि छ। उनी भन्छन्, ‘प्रचण्डले आफ्नो धरातल बिर्सेका छन्। उनको धरातल थवाङ हो, चुनवाङ हो। म त्यो ठाउँ गएको छु। आज पनि थवाङ/चुनवाङवासीलाई त्यो युद्ध लडेकामा अलिकति पनि पछुतो छैन। उनीहरूले नै लडेर ‘प्रचण्ड’ बनाए। प्रचण्डको नेतृत्वमा थियो त्यो तर लड्न साहस, हुंकार दिने त ती जनता थिए। तिनीहरूले नै ब्यारेक हानेका थिए। प्रचण्डको ध्यान अहिले त्यताभन्दा पनि अन्तै मोडिएको छ।’

उनी थप्छन्, ‘हामीले सामूहिकतामा विश्वास गर्न छोडिसकेका छौँ। कुनै पार्टीले एउटा व्यक्तिको असन्तुष्टि मेटाउन, उसलाई नेता बनाउन आफ्नो विधान नै च्यातेर फाल्छ।’

‘यदि यसो भएन भने त्यसले एउटा राजनीतिक पात्रमात्र जन्माउँछ। र, राजनीति उनीहरूको वरिपरि घुमिरहन्छ। ती भनेका हामीमाथि शासनमात्र गर्ने मान्छे हुन्,’ प्रतीक भन्छन्, ‘हामी नेताका गुलाम भएका छौँ। शासकलाई गुलामहरू भयो भने सजिलो हुन्छ शासन गर्न। आलोचनाहरूको बीचमा शासन गर्न अप्ठ्यारो हुन्छ।’

निरास हुँदै उनले भने, ‘म धेरै पटक ‘फ्रस्टेट’ भएको छु। वास्तवमा हामी सबै ‘फ्रस्टेट’ भएका छौँ। को खुसी छ र आजको अवस्था देखेर?
तर,टाढा भाग्न सक्दिनँ। यो कुराले हामीलाई सधैँ खेदिरहन्छ। हरेक चिजको एउटा समय हुन्छ। एकदिन यसको पनि अन्त्य हुन्छ। ‘कार्निवल रो’ जब सपनाहरूको मृत्यु हुन्छ त्यहाँ पात्रको खोजी हुन्छ। जसले एउटा नेतृत्व देओस्। आज नेपालमा जनता त्यसै भनिरहेका छैनन्, ‘राजा आऊ देश बचाऊ।’

कात्तिक ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्