नेपाल एयरलाइन्सले धनगढीबाट बझाङ उडान गर्ने

फाइल तस्बिर

बझाङ – सुदूर पश्चिमका पहाडी जिल्लामा हवाई यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ। धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो। लगातारको वर्षाका कारण सुदूर पश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाई यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुने बताए।

धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम भएको छ। धनगढीदेखि बझाङको तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम भएको छ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी–बझाङ उडान गर्नेछ। हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ। एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ।

असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसैँ मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन्। धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुसमेत बीच बाटोमै अलपत्र परेको नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताए। रासस

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्