बाढीपहिरोबाट सुदूर पश्चिममा ३५ को मृत्यु, अझै २३ बेपत्ता

फाइल तस्बिर

बैतडी – बैतडीसहित सुदूर पश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

बाढीपहिरो, डुबानमा परी सुदूर पश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक–एक जनाको मृत्यु भएको सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विपदमा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन्। बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी तथा कैलालीमा एक–एक छन्। यस्तै विपदमा परी १७ जना घाइते भएका छन्। डोटीमा ११, डडेल्धुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक–एक जना घाइते भएका हुन्। विपदमा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन्। ६० बढी हराइरहेका छन्।

पहिरोका कारण बझाङमा १२, डोटीमा ६ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकोमा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्