नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (अक्टोबर १७ देखि २३ सम्म)

परीक्षणसँगै फेरि बढ्दै छ संक्रमण

नोभेल कोरोना भाइरस, जसलाई SARS-CoV-2 भनिन्छ, को उत्पत्ति भएको दुई वर्ष हुनलाग्दा पनि  कोरोना प्यान्डेमिक अझै अनिश्चित नै छ भन्ने कुरा स्पष्ट छ।

कोरोना प्यान्डेमिकसंग पुरै विश्व परिचित भइसकेको छ र यसैसँगै समाजलाई अगाडि बढाउनु पर्दछ भन्ने मानसिकता हामी सबैमा विकास भइसकेको छ। तर अर्को तितो पक्ष यो पनि हो कि प्यान्डेमिकले आफ्नो आतंक छोडेको छैन। विश्वका विभिन्न भौगोलिक क्षेत्रलाई यसले हाल पनि पालैपालो बारम्बार सताइरहेको छ।

पछिल्लो अवस्थाको कुरा गर्ने हो भने युरोपमा हाल नया प्यान्डेमिक लहर चलिरेहेको छ। यसै वर्ष जुन महिनाको मध्यतिर त्यहाँ दैनिक ५०००० भन्दा कम संक्रमित थिए भने त्यसपछि संक्रमणमा वृद्धि भई दैनिक २००००० को हाराहारीमा दैनिक संक्रमित देखा परिरहेका छन्। पछिल्लो अवस्थामा यो संख्या अझै बढेर २५०००० नाघिसकेको छ। त्यस्तै जुन महिनाको मध्यसम्म दैनिक कोरोना मृत्यु १००० भन्दा कम भएको युरोपमा हाल दैनिक ३००० भन्दा बढी कोरोना मृत्यु देखा परिरहेका छन्।

बेलायतमा हाल कोरोना प्यान्डेमिक लहर चुलिरहेको छ। यसै वर्ष मे महिनामा अति न्यून  दैनिक नया कोरोना संक्रमण, दैनिक करिब २५००,  भएको बेलायतमा जुन महिनाको सुरुवातीदेखि फेरि बढेको संक्रमण जुलाईको मध्यसम्म पुग्दा दैनिक ५५००० जति पुगेको थियो। अगस्ट महिनामा संक्रमणमा केही कमी आई दैनिक करिब २५००० पुगेता पनि तत्पश्चात फेरि दैनिक संक्रमणमा वृद्धि भई  हाल पुनः दैनिक ४५००० भन्दा धेरै पुगेको छ।

त्यस्तै पछिल्लो समय रसियामा प्यान्डेमिकको नया लहर चलिरहेको छ जुन हालसम्मकै सबैभन्दा ठूलो लहर बनेको छ। यसै वर्षको मे महिनासम्म दैनिक करिब ७००० देखा परेको कोरोना संक्रमण हाल करिब ३७००० पुगेको छ। यसभन्दा अघि गतवर्ष डिसेम्बर महिनामा दैनिक संक्रमण २८००० देखि ३०००० सम्म पुगेको थियो।

त्यस्तै टर्कीको अवस्था पनि हाल कोरोना संक्रमणले नाजुक देखिन्छ। हाल त्यहाँ दैनिक ३०००० भन्दा धेरै संक्रमणका साथ् हालसम्मकै दोस्रो ठूलो प्यान्डेमिक लहर चलिरहेको छ।

हाल विश्वको दैनिक कुल नयाँ कोरोना संक्रमणको ५७% भन्दा धेरै संक्रमण र कुल कोरोना मृत्युको ४५% देखि ५०% भन्दा धेरै मृत्यु युरोपमा देखापरिरहेको छ।

त्यस्तै अस्ट्रेलियामा पनि पछिल्लो समय हालसम्मकै सबैभन्दा ठूलो प्यान् डेमिक लहर चलिरहेको छ। यस अघि गत वर्ष अधिकतम दैनिक ७००  जति रहेको दैनिक कोरोना संक्रमण हाल २००० भन्दा धेरै पुगेको छ।

त्यस्तै अमेरिकाको कुरा गर्ने हो भने त्यहाँ हाल दैनिक औसतमा करिब ८०००० देखि १००००० नया संक्रमण र १५०० देखि २००० दैनिक कोरोना मृत्यु देखापरिरहेका छन् जुन सामान्य अवस्था होइन । यद्यपि त्यहाँ हालको प्यान्डेमिक अवस्था गत सेप्टेम्बर महिनाकोभन्दा निकै राम्रो देखिन्छ।

हाल दक्षिण एसिया लगायत सिंगो एसिया, दक्षिण अमेरिका र अफ्रीकामा  भने तुलनात्मक हिसाबले कोरोना संक्रमण र प्यान्डेमिक केही शान्त देखिन्छ।

यी सबै तथ्यहरुले भौगोलिक क्षेत्र अनुसार प्यान्डेमिकले पनि फरक फरक रुप देखाउंछ र अर्को पटक कुन क्षेत्र प्यान्डेमिकको सिकार हुने हो अझै अनिश्चित छ भन्ने देखाउँछ।

यसै क्रममा दक्षिण एसिया पनि यसै परिस्थितिबाट गुज्रिरहेको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रबृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु दुवैमा क्रमिक कमी हुँदै आएको छ। हाल दक्षिण एसियामा दैनिक औसत करिब २०००० नया कोरोना संक्रमण र करिब ३०० नयाँ मृत्यु देखिने गरेको छ। दक्षिण एसियामा बिगत दुई महिनादेखि जम्मा दैनिक संक्रमण र मृत्युमा कमी हुँदै आएको छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक नया कोरोना संक्रमणको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा  दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ भने माल्दिभ्मा संक्रमण केही बढ्न खोजे जस्तो देखिन्छ।

त्यस्तै, चित्र न. ३ ले  दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक मृत्युमा पनि कमी हुँदै आएको छ।

चित्र न. ४ ले दक्षिण एसियाली र अन्य केही देशहरुको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समय बेलायतको दैनिक संक्रमण दरमा क्रमिक वृद्धि भएको देखिन्छ भने अन्य देशहरुमा संक्रमण दर कम हुँदै गएको छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता सन् २०२१ अक्टोबर १७ देखि २३ (विसं २०७८ असोज ३१ देखि कत्तिक ६) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उताव चढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ ।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नया संक्रमितहरुको संख्या हो। सन् २०२१ अक्टोबर १७ देखि २३ (विसं २०७८ असोज ३१ देखि कत्तिक ६) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नया संक्रमण र मृत्युको संख्या चित्र न. ५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परिक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, कत्तिक ६ गते शनिबारसम्म, देशभरि जम्मा ३८८२  जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या ८०८५३४  पुगेको छ। साप्ताहिक नया संक्रमण दुई हप्ताअघि ३०१९ थियो जुन गतहप्ता भन्दा थोरै हो। त्यस्तै, साप्ताहिक मृत्यु गतहप्ता ६७ रह्यो जुन दुई हप्ताअघि ५७ थियो। गतहप्ता जम्मा ४८५९३  पीसीआर परिक्षण गरियो जुन दुई हप्ताअघि ३४१५७ थियो/ यसरी गतहप्ता केही धेरै परिक्षण गर्दा साप्ताहिक नया संक्रमण र नयाँ मृत्युमा पनि वृद्धि भएको छ।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ४४.२५% जति देखिएको छ जुन दुई हप्ताअघि ५०.०१% थियो। दसैँ पर्व सकिएसँगै काठमाडौँको चहलपहलमा पनि कमी आई  सिंगो देशको तुलनामा काठमाडौँ उपत्याकाको कोरोना संक्रमण अनुपातमा पनि कमी आएको छ।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate) 

प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परिक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न. ६ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ जुन बढ्दै गएको प्रबृत्ति देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ५.५३% देखि अधिकतम ११.७६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ७.९४% रह्यो जुन दुई हप्ताअघि ९.५% थियो।

संक्षेपमा, गतहप्ता दुई हप्ता अघिको दाँजोमा नयाँ कोरोना संक्रमण र मृत्यु दुवै बढेको छ र त्यसको कारण पिसिआर परिक्षण धेरै गरिएको हुनाले हो। परिक्षणसंगै संक्रमण पनि बढ्नु सुखद होइन। साप्ताहिक संक्रमण र मृत्यु दुवै बढ्नु दशैंको भिडभाडको प्रभावले पनि हुन सक्दछ। प्यान्डेमिककालमा लुकेर बसेका संक्रमित र संक्रमण बाहक (क्यारिअर) सकेसम्म पत्ता लगाउने कोसिस गर्नु पर्दछ जसको एक मात्र उपाय परिक्षण नै हो। ज्यादा परिक्षण गरी न्यून संक्रमण भेटिनुनै आजको लक्ष्य हुनु पर्दछ। तर औसत साप्ताहिक संक्रमण दर गतहप्ता दुई हप्ताअघिभन्दा केही घट्नु सुखद हो।

दक्षिण एसियामा समग्ररुपमा दैनिक संक्रमण र मृत्युमा कमी आउंदै गएको प्रबृत्ति देखिएको छ।

कोरोनाकालमा आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरुलाई पनि बचाउन सकिन्छ। प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैली नै एक मात्र यस्तो हथियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

 

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्