सञ्चारमाध्यममा आएका कुरा सत्य छैनन् – प्रधानन्यायाधीश राणा

नेपाल बार एसाेसियसनका महासचिव लीलामणि पाैडेल।

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले न्यायालयका विषयमा सञ्चारमाध्यममा आएका कुराहरु सत्य नभएको जिकिर गरेका छन्।

आफूसँग आइतबार भेट गर्न आएका नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरुसँग प्रधानन्यायाधीश राणाले भने, ‘सञ्चारमाध्यममा आएका विषयहरु असत्य हुन्। कुरा त्यस्तो होइन। मबाट कमीकमजोरी भएको छैन। भएको भए सुधार गरी अघि बढ्न म तयार छु।’

भेटमा सहभागी बारका महासचिव लीलामणि पौडेलले भेटमा प्रधानन्यायाधीश राणाले सरकारसँग आफूले कुनै पनि भागबन्डा नगरेको, मन्त्रीको कोटा नमागेको र सुनुवाइलाई प्राथमिकता नदिएको कुरा सत्य नभएकोबारे बार पदाधिकारीहरुलाई स्पष्ट पारेको जानकारी दिए।

प्रधानन्यायाधीश राणाले आफूलाई सहयोग गर्न बार पदाधिकारीहरुसँग आग्रहसमेत गरेको उनले बताए। तर बारका पदाधिकारीहरुले आफूहरुले प्रधानन्यायाधीशलाई सुरुदेखि नै सचेत गर्दागर्दै विषय धेरै अघि बढेको भन्दै यहीं अवस्थामा सहयोग गर्न नसकिने जवाफ दिएको महासचिव पौडेलले बताए।

‘तपाईंले भनेकै आधारमा हामी विश्वस्त हुन सक्दैनौं भनेर प्रधानन्यायाधीशज्यूलाई भन्यौं’, उनले भने, ‘यी विषयमा हामीले पहिलेदेखि प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गर्दै आएका थियौं। तैपनि नरोकिएको उहाँलाई भन्यौं।’

मन्त्रिपरिषदमा भागबन्डा खोजेको विषयमा बारका पदाधिकारीसँग प्रधानन्यायाधीश राणाले भनेका थिए, ‘गजेन्द्र हमालकी बहिनीसँग विवाह भएको हो। २०४१ सालमै उनको निधन भयो। अहिले हमाल परिवारसँग मेरो आउजाउ छैन। मेरो नाम जोडेर मन्त्री बन्ने कुरा आएपछि मैले प्रधानमन्त्रीलाई नै नियुक्त नगरिदिनुहोस् भनेको थिएँ। तर मन्त्री नियुक्त गर्नुभयो। पछि छाड्नु भो। यसमा मेरो कुनै संलग्नता छैन।’

साेमबार फुल काेर्ट बैठक

बार पदाधिकारीहरु आफूललाई सहयोग गर्न तयार नदेखिएपछि प्रधानन्यायाधीश राणाले सोमबार फुल कोर्ट बैठक बोलाउने भएको महासचिव पौडेलले जानकारी दिए।

उनका अनुसार सर्वोच्च बारका पदाधिकारीसहितको हुने फुल कोर्ट बैठकमा सहभागी हुन प्रधानन्यायाधीश राणाले बार पदाधिकारीहरुलाई पनि आह्वान गरेका छन्।

‘हामीले प्रधानन्यायाधीशलाई यहीं अवस्थामा सहयोग गर्न नसकिने बताएपछि उहाँले भोलि (सोमबार) फुल कोर्ट बैठक बस्ने बताउनुभएको छ’, महासचिव पौडेलले भने, ‘सर्वोच्च बारको समेत सहभागी हुने बैठकमा हामीलाई पनि सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ।’

उनका अनुसार फुल कोर्टको बैठकमा हाल न्यायालयसम्बन्धी उठेका सम्पूर्ण विषयमा विस्तृत छलफल हुने प्रधानन्यायाधीशले जानकारी दिएका छन्। उक्त बैठकबाटै आफ्ना कमीकमजोरी सुधारेर अघि बढ्ने प्रधानन्यायाधीश राणाले वचन दिएको महासचिव पौडेलले जानकारी दिए।

बारले अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न व्यवस्था गर्न माग गर्दै आएको छ। उक्त व्यवस्था गर्न बारले १५ दिने अल्टिमेटमसमेत दिएको छ। आफ्ना माग र न्यायालयबारे अहिले सञ्चारमाध्यममा आएका विषयबारे स्पष्ट हुन र गर्न आइतबार बारका पदाधिकारीहरुले प्रधानन्यायाधीश राणासँग भेटवार्ता गरेका थिए। भेटपछि बारले पत्रकार सम्मेलन गरी भेटवार्ताबारे जानकारीसमेत दिएकाे छ।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्