‘नेपालमा पोलियोको जोखिम कायमै’

चितवन – नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।

उनीहरूले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा पनि जोखिम कायमै रहेको बताएका हुन्।

रोटरी डिस्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबले आयोजना गरेको मोटर ¥यालीपछि आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का पूर्वगभर्नर रवीन्द्रकुमार पियाले नेपालमा पोलियो उन्मूलन भए पनि छिमेकी देशमा उन्मूलन हुन नसक्दा जोखिम रहेको बताए। उनले भने, ‘रोटरियन पोलियो रोग उन्मूलनमा लागिराखेका छन्। छिमेकी देशको असर यहाँ नदेखिएला भन्न सकिँदैन।’

रोटरीको पोलियो विभागका सल्लाहकार शरदगोपाल न्याछ्योले पोलियो रोग उन्मूलनका लागि रोटरीले सन् १९५३ देखि अभियान सुरु गरेको जानकारी दिए। यो अभियानमा सबै लाग्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा रोटरियन नारायण प्रधान, रोशन पिया, विपिन पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमअघि पूर्वी चितवनको लोथरबाट उद्योग वाणिज्य संघ चितवनको प्रांगणसम्म मोटर  र्‍याली गरिएको थियो। जनचेतनामूलक उक्त ¥यालीमा मोटरसाइकल र कार सहभागी थिए। यसअघि शनिबार नारायणगढबाट सौराहासम्म साइकल र्‍याली गरिएको थियो। कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार दुई दिन जनचेतना जगाउने उद्देश्यले ¥याली आयोजना गरी आइतबार कार्यक्रम समापन गरिएको हो।

अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ। हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्