अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी

काठमाडौँ – सर्वोच्च र यस मातहतका अदालतहरुमा मंगलबारदेखि नै गोलाप्रथामा सुनुवाइको पेशी तोकिने भएको छ।

नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरुसँगको आइतबार भएको भेटवार्तामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि नै गोलाप्रथाबाट सुनुवाइको पेशी तोकिने बताएका हुन्।

भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाले पर्सिबाट गोलाप्रथा र मङ्सिरबाट अटोमेसनमा जाने वचन दिएको जानकारी दिए।

विवादास्पद बनेको न्यायपालिका सुधारका सम्बन्धमा नेपाल बारका पदाधिकारीहरुले आइतबार बिहान प्रधानन्यायाधीश जबरासँग भेटवार्ता गरेका थिए। एसोसियसनले प्रधान्यायाधीश राणालाई भेटेर न्यायपालिकामा देखिएको विसंगति सुधार गरी न्यायपालिकाको समग्र सुधारमा पहल गर्न ध्यानाकर्षण गरेका थिए।

बारले प्रधानन्यायाधीशलाई अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन १५ दिने अल्टिमेटम दिएको छ। स्वचालित पेशी प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोलाप्रथा (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन बारेले जोड दिँदै आएको छ।

उक्त भेटमा प्रधानन्यायाधीश राणाले अहिले सञ्चारमाध्यममा आएका विषयहरु सत्य नभएको स्पष्टीकरण दिँदै आफूलाई सहयोग गर्न बार पदाधिकारीहरुसमक्ष आग्रह गरेका थिए।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्