चर्चित एल क्लासिको आज, कीर्तिमानी गोलकर्ता मेस्सी भने मार्सेविरुद्ध खेल्दै

एल क्लासिकोका रुपमा परिचित बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार स्पेनिस ला लिगा फुटबलअन्तर्गत हुँदै छ।

बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडसँग खेल्न लागेको हो। बार्सिलोनासँग यसपटक लियोनल मेस्सी छैनन्। मेस्सी करिब डेढ दशकको बसाईपछि यसै सिजन फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मन-पीएसजीमा आबद्ध भएका हुन्।

मेस्सी एक क्लासिकोका कीर्तिमानी गोलकर्ता हुन्। उनले २६ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका अल्फ्रेडो डे स्टेफानो र क्रिस्टियानो रोनाल्डो दुवैको नाममा समान १८ गोल रहेको छ। मेस्सीले एल क्लासिकोअन्तर्गत ला लिगामा १८, स्पेनिस सुपर कपमा ६ र युरोपियन प्रतियोगितामा २ गोल गरेका थिए।

बार्सिलोना र रियल म्याड्रिडबीच हालसम्म भएका भिडन्तमा बार्सिलोनाले ११५ पटक र रियल म्याड्रिडले १०२ पटक जितेको छ। ६२ खेल बराबरीमा सकिएका छन्। ला लिगामा मात्र बार्सिलोनाले ७२ र रियल म्याड्रिडले ७५ पटक जित हात पारेका छन्। यो प्रतियोगितामा ३५ खेल बराबरीमा सकिएका छन्।

ला लिगाको यो सिजन रियल म्याड्रिड ८ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा छ। ८ खेलबाट १५ अंक भएको बार्सिलोना आठौँ स्थानमा छ। शीर्षस्थानमा रहेको रियल सोसिडाडको ९ खेलबाट २० अंक छ।

आइतबार बार्सिलोनाले रियल म्याड्रिडसँग खेल्दा मेस्सी लिग वानअन्तर्गत मार्सेविरुद्ध भिड्नेछन्। मेस्सीले पीएसजीका लागि घरेलु लिगमा भने गोल गर्न सकेका छैनन्।

कात्तिक ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्