कोलम्बियाले पक्राउ परेका लागुऔषध तस्कर समूहका नाइकेलाई अमेरिका सुपुर्दगी गर्ने

सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागुऔषध तस्कर समूहका नाइके तथा कोलम्बियाको ठूलो आपराधिक समूहका नेतालाई अमेरिका सुपुर्दगी गरिने भएको छ ।

कोलम्बियाले शनिबार पक्राउ परेका लागुऔषध तस्कर समूहका नेता ओतोनिएललाई अमेरिका सुपुर्दगी गर्ने जानकारी दिएको हो ।

ओतोनिएलका रुपमा चिनिएका डाइरो एन्टोनिओ उसुगा आर्मी, हवाई सैनिक र प्रहरीले गरेको अपरेशनको क्रममा पक्राउ परेको हुन् ।

कोलम्बिया सरकारले ओतोनिएलका बारेमा जानकारी दिनेलाई ८ लाख अमेरिकी डलर बराबरको पुरस्कारको पनि घोषणा गरेको थियो । यस्तै अमेरिकाले उनका लागि ५० लाख अमेरिकी डलर बराबरको पुरस्कार दिने बताएको थियो । उनी केही वर्षादेखि सर्वाधिक खोजीको सूचिमा थिए ।

ओतोनिएलले सन् २००३ देखि २०१४ सम्म कम्तीमा ७३ मेट्रिक्टन लागुऔषध आफ्नो देशमा आयात गरेको आरोप अमेरिकाले लगाएको छ ।

कोलम्बियाका रक्षामन्त्री डिएगो मोलानोले एल तिएम्पो पत्रिकासँग अब ओतोनिएललाई अमेरिका पठाउने प्रक्रिया थालिने बताएका छन् । हाल ओतोनिएल राजधानी बोगटामा रहेको सैनिक बेसक्याम्पमा छन् ।

कोलम्बियाका राष्ट्रपति इभान डूक्कूले ओतोनिएल पक्राउ परेको सम्बन्धी जानकारी टेलिभिजन सम्बोधन मार्फत दिएका थिए ।

ओतोनिएललाई शनिबार पानामासँगको सीमा जोडिएको ग्रामीण क्षेत्रबाट पक्राउ गरिएको उनले जानकारी दिएका हुन् ।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्