पोखरिया नगरपालिकाको बजेट तीन महिना ढिलो पारित

वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकाको ०७८।७९ को बजेट तीन महिनापछि बल्ल पारित भएको छ। जनप्रतिनिधिबीच भागबण्डा नमिल्दा लामो समयसम्म पारित हुन नसकेको बजेट तीन महिनापछि पारित भएको हो।

नगरपालिकाको ०७८।७९ को बजेट सोमबार पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिए।

नगरपालिकाले चालु वर्षका लागि कुल ५० करोड ६२ लाखको बजेट पारित गरेको हो। उनले समयमै बजेट पारित हुन नसक्नुमा विभिन्न कारण रहेको भन्दै ढिलै भए पनि सोमबार बजेट पारित भएको बताए। बजेट पारित भएसँगै सूत्रमा बजेट राखिएपछि तीन/चार दिनको अवधिभित्र खर्च गर्न मिल्ने उनको भनाइ छ।

बजेट पारित नहुँदा नगरपालिकाका कर्मचारीले दसैँमा समेत तलब–भत्ता पाउन सकेका थिएनन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी वर्षका लागि असार १० गतेभित्र आ–आफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको छ।

तर, त्यसलाई मिच्दै पोखरिया नगरपालिकाले तीन महिनापछि चालु वर्षको बजेट पारित गरेको हो। नगरपालिकाले असार १० गते नै ०७८।७९ को बजेट पेस गरेको थियो।

बजेट पेस भए पनि नगरपालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिले समयमै वडाबाट योजना छनोट गरेर नपठाएपछि समयमै बजेट पारित हुन सकेको थिएन।

नगरपालिकाका अधिकांश वडाध्यक्षले आफूले चाहेअनुसार नै योजना बजेटमा पार्न खोज्दा बजेट पारित हुन ढिलो भएको हो।

स्थानीय तहको चुनाव पनि यसै वर्षको चैतमा हुने भएपछि नगरपालिकाका जनप्रतिनिधिले आफूले चाहेको र आफ्ना कार्यकर्तालाई खुसी पार्ने खालका योजना बजेटमा पार्न चाहेका थिए। जनप्रतिनिधिको सोही खिचातानीका कारण समयमै नगरपालिकाको बजेट पारित हुन नसकेको हो।

 

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्