‘प्रधानन्यायाधीशले २/४ घन्टामै राजीनामा दिनुपर्छ’

काठमाडौँ – पूर्वमहान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन्। राणाका कारण न्यायालयको छवि नै बिग्रिएको निष्कर्ष निकाल्दै उनीहरुले अब राजीनामा मात्रै विकल्प भएको जिकिर गरेका हुन्।

पूर्वमहान्यायाधीवक्ता रमनकुमार श्रेष्ठले राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने जिकिर गरे।

श्रेष्ठले भने, ‘उहाँले आजै राजीनामा दिनुपर्छ। व्यक्तिगत रुपमा पनि यसले हित हुँदैन्, उहाँ जति बस्नुहुनछ उहाँलाई त्यति ठूाले क्षति हुन्छ। न्यायलय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ । १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो। कमण्डरमात्रै बाँकी भएको युद्ध कस्तो हुन्छ? धेरै समय नलगाउनुहोस अब २/४ घण्टाभित्रै राजीनामा दिनुपर्छ।’

आज (सोमबार) रिपोर्टर्स क्लबमा उनले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाभियोग लगाउनु पर्ने प्रस्ताव अघि सारे।

अर्का पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले पनि अहिलेको अवस्थामा न्यायालयको साख जोगाउनको लागि प्रधान्यायाधीश जबराले निकास दिनुपर्ने धारणा राखे।

उनले भने, ‘न्यायालयको विषयमा गम्भीर प्रश्न उठेको छ। प्रधानन्यायाधीशको बारेमा जुन विषय उठान भएका छन्। उहाँमाथि जतिपनि आरोप र विवाद लागेका थिए, त्यो स्पष्ट पार्ने जिम्मेवारी थियो। तर अब समय घर्किसकेको छ, फस्र्योट गर्ने समय गुज्रिरसकेको छ।’

उनले प्रधानन्यायाधीशले कार्यपालिकासँग भागबण्डा खोजेको विषयमा पनि प्रश्न उठेको स्मरण गर्दै भने, ‘यो नेपालको न्यायिक ईतिहासमा गम्भीर विषय हो। अब यति विवादहरु सिर्जना हुँदाहुँदै पनि तपाईँ त्यो पदमा बसिरहन अन्तरआत्माले दिन्छ त?’

वरिष्ठ अधिवक्ता महेश नेपालले प्रधानन्यायाधीश जबराले आफ्नो स्वेच्छाले राजीनामा दिए अलग कुरा भएको तर कसैले माग्दैमा प्रधानन्यायाधीशले राजीनामा दिन नहुने धारणा राखेका छन्।

प्रधानन्यायाधीश जबराको सवालमा कुनै एउटा विषयलाई हेरेर हट्नुपर्छ वा पर्दैन भन्न नहुने उनको टिप्पणी छ।

उनले भने, ‘मलाई चित्त बुझ्यो कि बुझेन भनेर राजीनामा वा हट्नुपर्छ भन्ने कुरा गर्नुहुँदैन, प्रधानन्यायाधीशले संवैधानिक अधिकारभन्दा बाहिर गएर भूमिका खेलेको हो भनेर मान्ने हो भने उहाँलाई राजीनामा दिएरमात्रै उन्मुक्ति दिनुहुँदैन्। प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्छ।’

त्यस्तै, अर्का वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर फेश सेभ गर्नुपर्ने बताएका छन्। उनले मैदानमा अब टिम क्याप्टेनले मात्रै खेलेर केही नहुने भन्दै प्रधानन्यायाधीशले राजीनामा दिँदा नै राम्रो हुने तर्क गरे।

उनले भने, ‘टिम क्याप्टेनले एक्लैले खेलेर पुग्दैन् । टिम लिडरले भनेको कुरा अरु टिम मेटहरुले नमान्ने अवस्था आउनु भनेको यो शर्मनाक हो। आज उपरान्त जति जति दिन ढल्दै जान्ँछ, त्यति त्यति नै चरित्रमा दाग लाग्दै जान्छ।’

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्