जनकपुरधामसहित प्रदेश २ का विभिन्न जिल्लामा जनमत पार्टीको सिटी जुलुस

जनकपुरधाम – जनमत पार्टीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस निकालेको छ।

जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्लाको मुकाममा पूर्वनिर्धारित कार्यक्रमअनुसार जनमत पार्टीका कार्यकर्ताले सोमबार सिटी जुलुस निकालेका हुन्।

जनमत पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाही माग गर्दै जुलुस निकालेको हो।

जनमत पार्टीले ९ गते पालिकाहरूमा मोटरसाइकल जुलुस, १० गते वडा तहमा कोणसभा र मसाल जुलुस, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकाममा मसाल जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेको थियो।

कात्तिक १६ गते वडा तथा टोलमा कोणसभा र अन्तरक्रिया कार्यक्रम गरेर जनतासमक्ष आफ्ना मागबारे जानकारी गराउने तथा सर्वपक्षीय जनआन्दोलनको कार्यक्रम तय गरिने जनमत पार्टीले जनाएको छ।

जनमत पार्टीका कार्यकर्ताले संघीय खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार अर्धनग्न अवस्थामा जनकपुरधाम नगर क्षेत्रमा हिलो लगाउँदै घुमाएका थिए। उक्त घटनापश्चात् प्रहरीले ६२ जनालाई नियन्त्रणमा लिएर पछि १७ जनाविरुद्ध मुद्दा चलाएको छ।

 

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्