एमाले पालिका अधिवेशन

भक्तपुर र चाँगुनारायणमा सर्वसम्मतको सम्भावना क्षीण

भक्तपुर – नेकपा एमालेको १० औं राष्ट्रिय सम्मेलनको लागि मंगलबार पालिका अधिवेशन हुँदै छ। जसको लागि भक्तपुरका चार वटा नपामा सर्वसम्मत नेतृत्व चयनको तयारी भइरहेको छ। तर भक्तपुर र चाँगुनारायण नपामा भने सर्वसम्मत नगर नेतृत्व चयन हुने सम्भावना अत्यन्त क्षीण रहेको एमाले नेताहरु बताउँछन्।

भक्तपुर नगरमा वर्तमान नगर अध्यक्ष विष्णु सुवालले दोहोरिने इच्छा देखाइरहँदा नगर सचिव विश्वराज शिल्पकारले अध्यक्षमा दावी गरिरहेका छन्। अध्यक्षमा दावी गरेका शिल्पकारले आफू सर्वसम्मत रुपमै भक्तपुर नगर अध्यक्ष हुने जिकिर गरे। वर्तमान अध्यक्ष सुवाल पार्टी जिल्ला सदस्यसमेत रहेकाले पुनः नगर अध्यक्ष हुन विधानतः नमिल्ने उनको तर्क थियो।

एमाले विधान महाधिवेशनमा पारित विधानअनुसार जिल्ला सदस्य भएको व्यक्ति नगर कमिटीमा बस्न पाइँदैन। यदि बस्ने नै भए जिल्ला सदस्यबाट राजीनामा दिनुपर्छ। यस्तो अवस्थामा भक्तपुरका तीन नपामा वर्तमान अध्यक्षले पुनः नगर अध्यक्ष हुन जिल्ला सदस्यबाट राजीनामा दिनुपर्नेछ। भक्तपुर नगर अध्यक्ष सुवालसँगै चाँगुनारायण नगर अध्यक्ष रमेश बुढाथोकी र मध्यपुर थिमि नगर अध्यक्ष सूर्यलाल श्रेष्ठ जिल्ला सदस्य रहेका छन्। सूर्यविनायक नगर अध्यक्ष रवीन्द्र सापकोटा भने जिल्ला सदस्य होइनन्। उनी सूर्यविनायक नपा वडा नं. ७ गुण्डुका निर्वाचित अध्यक्ष भने हुन्।

त्यसैले चाँगुनारायण नपामा वर्तमान अध्यक्ष बुढाथोकीलाई रामेश्वर थापा र राम तिमिल्सेनाले नगर अध्यक्षको लागि चुनौती दिइरहेका छन्। झौखेलका थापाले सर्वसम्मत रुपमा नगर अध्यक्ष चुन्ने बताए। उनले आफ्नो पल्लाभारी भएको दावी गर्दै सर्वसम्मत नहुने स्थिति भए निर्वाचन हुने सुनाए।

‘हामी सबै सर्वसम्मत नै जान तयार छौं’, उनले भने, ‘तर एकपक्षीय रुपमा सर्वसम्मत र सहमति हुँदैन। सबैलाई समेटेर जानुपर्छ।’

उनले लोकतन्त्र र समाजवाद मान्ने एमालेले निर्वाचनमा जानै हुन्न नभनेकाले चाँगुनारायणमा निर्वाचन हुने प्रवल सम्भावना रहेको बताए। वर्तमान अध्यक्ष चाँगुनारायण ४ चाँगु निवासी हुन भने रामेश्वर थापा वडा नं २ झौखेल र राम तिमिल्सेना वडा नं. ८ सुडाल निवासी हुन्।

रामेश्वर र राम दुवैले वर्तमान अध्यक्ष बुढाथोकी जिल्ला समितिमा रहेकाले माथिल्लो कमिटीमा रहेको व्यक्ति पुनः तल्लो कमिटीमा आउँदा सकारात्मक सन्देश नजाने बताउँछन्।

सूर्यविनायक नगरमा भने अध्यक्षको लागि अहिलेसम्म कसैले दावी नगरेको वर्तमान नगर अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए। उनले आफू नगर अध्यक्षमै दोहोरिने गरी अघि बढेको सुनाए। ‘सूर्यविनायकमा नगर अध्यक्षको लागि कुनै पनि साथीहरु अगाडि आउनुभएको छैन’, सापकोटाले भने, ‘बरु अन्य पदका लागि साथीहरुले चाहना गरिरहनुभएको छ। अध्यक्षमा म नै बन्छु भन्ने छ।’

एमाले र माओवादी केन्द्र एकता भएर गठन भएको नेकपालाई सर्वोच्चले छुटाइदिएपछि पुनः व्युँतिएको एमालेले करिब ३ महिनाअघि भक्तपुरका चारवटै नपामा नगर कमिटी गठन गरेको थियो। त्यसैले उनीहरुलाई नै नगर अध्यक्षमा निरन्तरता दिनुपर्ने पक्षमा अधिकांश जिल्ला नेताहरु रहेका छन्।

उनीहरुले निर्वाचन हुने अवस्थामा मात्रै माथिल्लो कमिटी छाड्नुपर्ने नत्र सर्वसम्मत र सहमति भए उनीहरुले माथिल्लो कमिटी छाड्न नपर्ने एमाले नेता निर्मल भट्टराई बताउँछन्।

‘नगर अधिवेशनमा निर्वाचन हुने स्थिति बन्यो भने माथिल्लो कमिटीको जिम्मेवारीबाट राजीनामा दिनुपर्छ’, उनले भने, ‘नत्र सर्वसम्मत र सहमति भए माथिल्लो कमिटीबाट राजीनामा दिनुपर्दैन।’

एमाले विधानअनुसार नगर अधिवेशनमा ७५ सदस्यसम्मको नगर कमिटी चुन्नेछ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँचजना पदाधिकारी रहनेछन्। भक्तपुरका चार नपामध्ये भक्तपुरबाहेक सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमिमा तुलनात्मक रुपमा पार्टी राम्रो अवस्थामा छ। भक्तपुरमा नेपाल मजदुर किसान पार्टीलाई एमाले, कांग्रेस, माओवादीले टक्कर दिन सकेका छैनन्।

पार्टी विभाजित भएकाले बाँकी नगरमा पनि पार्टीको अवस्था एकीकृत एमालेको स्थितिमा छैन। एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले भक्तपुरमा जिल्ला कमिटीसँगै चारवटै नपामा नगर कमिटी गठन गरिसकेको छ। मध्यपुर थिमि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादी रोजेपछि मध्यपुरमा तुलनात्मक रुपमा एमाले कमजोर रहेको बताइन्छ।

कात्तिक ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्