'जिजीविषा' मण्डला थिएटर अनामनगरको अन्तिम शाे

उद्देश्य, अठोट अनि आफैँलाई विश्वास गर्न सिकाउने नाटक ‘जिजीविषा’

काठमाडौँ – हिमाल फेदीमा रहेको पोखरीमा माछाको एक झुण्ड बस्थ्यो। प्रतिकूल मौसमले पोखरीका अरु जलचरसँगै माछाको जीवनचक्रलाई पनि प्रभाव पार्‍यो।

पहिला पानी परेन, पछि बेतोडले पर्‍यो। अप्रत्यासित बर्सिएको पानीले पोखरीको संरचना भत्कायो, माछाको बासस्थान बिगार्‍यो, अनि माछाका अण्डा बगायो।

त्यही कुरमा पुस्तौँपुस्ता बिताएका माछाहरुले आफ्नो भविष्य देखेनन्। त्यसपछि विकल्प नखोजी भएन। तर आफ्नो तलाउबाट कहिल्यै बाहिरको संसार नदेखेका माछाहरुलाई विकल्प के हुन्छ भनी पहिल्याउनु भनेको मृत्युको जोखिम मोल्नु थियो।

समूहकी टाठी माछी ‘टिकुली’ ले सम्भावित भवितव्य सबैलाई जानकारी गराउँछिन् र माछाहरुको जीवनको सम्पूर्ण आधार समुन्द्रको यात्राको लागि उक्साउँछिन्। समुन्द्र सम्पूर्ण माछा जगतको लागि सपनाको घर थियो। महासागरमा उनीहरुले जीवन सुनिश्चित देख्थे। तर समुन्द्रसम्मको यात्रा कति सम्भव कुरा हो र जीवनको जोखिम कति छ त्यो अन्यौलकै विषय थियो ।

टिकुलीले यात्रा त सुरु गर्छिन् तर उनको त्यो प्रयासका लागि सही समय हुँदैन। उनको असामयिक मृत्युले माछा जगतको जीवन जोगाउने यात्राको कल्पनामा त्रास थपिदिन्छ। पोखरीको वातावरण झन् खराब हुँदै जान्छ, त्यसैले झुण्डका माछाहरुमा त्यहीँ बस्ने कि समुन्द्रको यात्रा गर्ने भन्नेमा दुविधा हुन्छ। केहीलाई जन्मेहुर्केको ठाउँको माया लागेर आउँछ, केहीलाई नयाँ यात्रामा भएको अनविज्ञताले थलो छोड्ने आँट आउँदैन। तर जीवन–मरणको दोसाँधमा अल्झिएर बस्नु भन्दा आइपरेको व्यहोर्ने आँट बोक्ने र आफ्नो पुर्ख्यौली थलोमा बस्ने केही आधार नदेख्नेहरु समुन्द्रको यात्राका लागि निस्कन्छन्। अबोध र निर्दोष माछा जो अभिभावकमा आश्रित हुन्छन् उनीहरु पछि लागेर जीवन जिजिविषाका बोकी यात्रामा निस्कन्छन्।

यात्रा भविष्य हो, भविष्य अनिश्चित हुन्छ।

हामीलाई अहिले भइरहेको कुरा थाहा भए पनि भोलि के हुन्छ भन्नेबारे थाहा हुँदैन। यी माछाबीच भएको दुविधा अनि अनिश्चित यात्रा मानिसको जीवनसँग पनि मिल्न जान्छ।

मानिसको जीवन पनि सरल रेखामा बग्दैन, उतारचढावको आँधीमा मानिस हिँडिरहेको हुन्छ। राम्रो जीवनको अभिलाषा बोकेर विदेशिएका कयौँ नेपालीहरु जो आफ्नो थातथलो छोडेर विदेशिएका छन्। विदेशिने सबैको लक्ष्य एउटै छैन। कोही काम गर्न, कोही पढाइ अनि कोही आफ्ना निकटका मानिसको साथ लागेर गएका छन् ।

विदेशिन चाहने सबैको मार्ग पनि एकै हुँदैन। कोही सहज त कोही अफ्ठेरो बाटोमा हिँडिरहेका हुन्छन्। नाटकमा चित्रित गरिएको टिकुली पात्र जसले आफ्नो ठाउँमा मात्र सीमित हुन नचाहेर पोखरी बाहिरको संसार हेर्ने चेष्टा गर्छे, तर उनको प्रयास सफल हुँदैन। यस्तै विदेशमा उज्ज्वल भविष्य हुने आश बोकेर गएका सबै गन्तव्यमा पुग्दैनन।

हिँडेपछि गन्तव्यमा पुगिन्छ नै भन्ने छैन। तर यात्रा चुनौतीसँगै अवसर पनि हो।

नाटकमा बथानसँग निस्किएको पुन्टेयस शिशु माछा हो। यात्राका क्रममा ऊ माझीको जालमा पर्छ, उसले सानो भएकै कारण पाल्ने ठाउँमा लगिन्छ । दयालु बालिकाले उसलाई फेरि खोलामा छोडिदिन्छिन्। त्यसपछि उसले छुटेको समूह भेट्छ । यात्रामा सहयोगी माछादेखि अवसरवादी माछाहरु भेटिन्छन्। लक्ष्य पुग्नै लाग्दा पुन्टेयसले समूहका अरु माछा र अर्को समूहका माछाहरुसँगै महाशिरको सामना गर्छ। माछालाई खान आएको महाशिरलाई समूह मिलेर भगाउन सफल हुन्छन्। अन्ततः हजार हन्डर खाएर, कोही छुट्टिदै कोही साथ हुँदै, कोही नयाँ सदस्य थपिँदै यो समूह समुन्द्रसम्म पुग्छ।

स्वदेश छोडेर विदेशिने हाम्रा दाजुभाइ, दिदीबहिनीहरुको नियति माछाको यो यात्रासँग मिल्न आएको भान हुन्छन्। नेपालमा अवसर, भनेजस्तो वातावरण नपाएकै कारण बाध्यतावश र कोही स्वेच्छाले आफ्नो थलो छोड्छन्। जीवनमा अनेक परिस्थितिसँग लड्छन्, त्यहाँ बस्दाबस्दै आफूलाई भोगाइले पनि परिपक्व पार्छन्। कति विदेशमा आफ्नै समूह खोजेर मिलेर बस्छन्, कति विदेशीसँग सम्बन्ध गाँसेर बस्छन्। कति आफू गएपछि आफ्ना परिवारलाई पनि लिएर जान्छन् अनि कति आफ्नो थलोमा फर्कन्छन्।

नाटकमा भूमरीको सामना गर्नु, कठीन परिस्थितिमा समूहमा हिँड्नु, महाशिरको सामना गर्नु र भगाउनुले एकतामा हुने बल अनि हिम्मतलाई प्रस्तुत गर्छ। जसले जस्तोसुकै बाधा अड्चनलाई पनि पार गरेर अगाडि बढ्ने अठोटको बोली बोल्छ। यस्तै समूहको जस्तो सोचाइ नराख्दा एक्लिनु अनि आफूलाई जोगाउँदै, आफ्नो ख्याल गर्दै उद्देश्य प्राप्त गर्नुलाई नाटकले प्रस्तुत गरेको छ। आउँदा दिनमा हुने घटनाको भयलाई सामना गर्न भन्दा पनि ‘केही भएको छैन’ भनि अन्देखा गर्ने प्रवृत्ति नाटकमा देखाइएको छ।

 

नाटकको अन्त्यमा समुन्द्रसम्म आइपुगेपछि केही माछाले घर फर्कने मनस्थिति बनाउँछन्। सेती माछाको यो मनस्थितिबाट पुन्टेयस हैरान हुन्छ र फर्कनुको कारण सोध्छ, ‘मुहान छोड्ने बेलामा मैले फर्कने सोचेको थिइन। भन्छन् नि यात्राले धेरै कुरा सिकाउँछन् भनेर, फर्कनुपर्छ भन्ने कुरा मलाई यात्राले नै सिकायो।’ विदेशिएका धेरै नेपाली स्वदेशमा नै केही गर्छु भनेर फर्किएका छन्।

नाटकका केही गहन तथा ययार्थवादी संवादहरु छन्, ‘विपदमा घर छोड्नु हुँदैन, मिलेर सामना गनुपर्छ।’

‘संसारका सबै यात्रा अपूरा हुन्छन्, सबै यात्रा पूरा भएको भ्रममा हुन्छन्। बाँकी रहने हामीले फेरेको सास मात्र हो।’

‘संसारका सारा खोज अधुरा छन्।’

‘तिमीले खोजे पनि नखोजे पनि तिम्रो खोज चलिरहन्छन्। खोज्दा नभेटिएर निराशा र नखोज्दै भेटियो भने सन्तुष्टि।’

‘उदेश्य प्राप्त गर्न स्थिर भएर हुँदैन, गतिशील हुनुपर्छ।’

नाटकको अन्त्यमा कथाको मुख्य पात्र पुन्टेयसले आफ्नो अस्तित्व थाहा पाउँछ। यतिका समय उसले पाएको नाम, उसका सम्बन्धहरुभन्दा फरक उसको परिचय रहेको खुलासा हुन्छ। हामीले जे चिजलाई सत्य मानिरहेका हुन्छौँ, त्यो झुट हुन सक्छ। सास रहुन्जेल सम्म हामीले यात्रा गर्न छोड्नु हुन्न भन्ने सन्देशका साथ नाटक टुंगिन्छ।

मण्डला थियटरमा प्रदर्शन भइरहेको नाटक ‘जिजीविषा’ मण्डला ड्रामा स्कूलको पहिलो शैक्षिक सत्रको अन्तिम नाट्य प्रस्तुति हो। ‘सामाजिक रुपमान्तरणका लागि रंगमञ्च’ शीर्षकमा मण्डला थिएटरले शान्ति र द्वन्द्व व्यवस्थापनका लागि रंगमञ्चीय शिक्षाको प्रयोगलाई प्रवर्द्धन गर्न भन्दै नाटकसम्बन्धी डेढ वर्षे पाठ्यक्रम निमार्ण गरेको थियो। सोही पाठ्यक्रम अन्तर्गत २०७७ असोजदेखि सुरु भएको मण्डला ड्रामा स्कूलको पहिलो व्याचको प्रस्तुति हो यो।

नाटकको प्रस्तुतिमा धेरै मेहनत गरिएको छ। कलाकारहले लगाएका पहिरन, माछाका मुकुट अनि कलाकारको हाउभाउले नाटकलाई वास्तविक बनाएको छ। यस्तै यसमा गरिएको विभिन्न प्रयोगले नाटकलाई सुन्दर बनाएको छ। विद्यार्थीले गरेको अभिनय भए पनि त्यति कच्चा देखिँदैन। कलाकारहरुको मेहनत मञ्चमा देख्न सकिन्छ। नाटकमा पानीको तलाउ देखाउन प्रयोग गरिएको विद्युतीय दृश्य, साबुनका फोका अनि दियो लगायतका सामग्रीले दर्शकका आँखालाई विभिन्न दृश्य हेर्ने अवशर दिन्छ। यात्राका दृश्य प्रस्तुत गर्दाको खालि समयलाई संगीत र गीतका शब्दले भरेका छन्। नाटक मञ्चनमा लाग्ने खर्चको लागि कन्जुस्याइँ गरिएको छैन।

नाटकलाई सोमनाथ खनालले लेखेका छन् भने राजन खतिवडाले निर्देशन गरेका छन्। यस नाटकका निर्माता गोविन्द पराजुली हुन्। राजन खतिवडालाई निर्देशनमा विजय बरालले सहयोग गरेका छन्। नाटकको निर्माण परिकल्पना देव न्यौपानेले गरेका छन्। नाटकको गीत र संवाद सम्पादन विप्लव प्रतिकले गरेका छन्। उत्सव बुढाथोकीको संगीत छ।

मञ्चमा भने मण्डला ड्रामा स्कूलका विद्यार्थीहरु आकाश नेपाली, आदित्य मिश्र, अनिल कुर्मी, सुस्मिता पोख्रेल, सुस्मिता गुरागाई, विष्णुमाया परियार, शिवा परियार, सञ्जय विश्वकर्मा, समृद्धि नेपाल, सरिता कठायत पासाङ ल्हामु शेर्पा, सुमित्रा पेहिम, हाङ्ग आ हाङ्ग राई, दिक्षा चौधरी, प्रदिप ढुंगाना र निरज चौधरी रहेका थिए।

यो नाटकलाई अभ्यास प्रदर्शन पछि छायाँकन गरेर मण्डलाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिने थिएटरले जनाएको छ।

अनामनगरको नाटकघरमा अन्तिम शो

सन् २०१२ को डिसेम्बरबाट अनामनगरमा नाटक प्रदर्शनको लागि खुलेको मण्डला नाटक घरमा ‘जिजिविषा’ नै अन्तिम पल्ट प्रदर्शन हुँदैछ। नाटकघरले जग्गा मालिकसँग गरेको सम्झौता सकिन लागेको हुनाले अब यो नाटकघर भत्काउन लागिएको हो।

मण्डले अब आफ्नो शोहरु नयाँ बानेश्वरबाट देखाउने छ। हाल नयाँ नाटकघर निर्माणाधिन अवस्थामा रहेको मण्डला थियटरले जनाएको छ।

तस्बिर : सुशिल तामाङ

कात्तिक ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्