ब्राउनसुगर लिन हेटौंडाबाट नेपालगञ्ज हुँदै रुपैडिहा

भारतको सीमावर्ती बजार रुपैडिहा भएर नेपाल आउने बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका। तस्बिर : कुमार श्रेष्ठ

नेपालगञ्ज – लागूऔषध ओसारपसारको लागि बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका ट्रान्जिट प्वाइन्ट बनेको छ। पछिल्लो एउटा घटनाले यसको पुष्टि गरेको छ। प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित जमुनाहा नाकाबाट एकजनालाई नियन्त्रणमा लियो। ती व्यक्ति लागूऔषध लिन मकवानपुरको हेटौंडाबा नेपालगञ्ज हुँदै छिमेकी भारतको रुपैडिहा गएर आएका थिए।

उनले रुपेडिहाबाट खैरो हेरोइनसमेत आफ्नो साथमा ल्याएका थिए। उनी रुपैडिहाबाट खैरो हेरोइन लिएर निर्धक्क जमुनाहा नाका भएर नेपाल प्रवेश गर्दै थिए। काभ्रेको महादेवस्थान घर भई हाल मकवानपुर बस्दै आएका मानबहादुर रोकालाई बाँके प्रहरीले १५.६ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो। उनी लागूऔषध खैरो हेरोइन लिनकै लागि हेटौंडाबाट नेपालगञ्ज हुँदै रुपैडिहा आएको पाइएको बाँके प्रहरी बताउँछ। रुपैडिया नेपालगञ्जको सीमावर्ती भारतीय बजार हो।

जमुनाहा नाका भएर नेपालगञ्जतर्फ आउँदै गर्दा रोका रुपैडियाको चकियारोडबाट १५.६ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए। उनले एक किलो स्याउसँगै आलु चिप्सको कभरभित्र ब्राउनसुगर राखेर ल्याएका थिए। रुपैडिहाबाट हिँड्दै नेपालगञ्ज आउँदै गरेका रोकालाई प्रहरीले शंका लागेर जाँच गर्दा ब्राउनसुगर फेला परेको थियो।

यसअघि लागूऔषध ब्राउनसुगर शरीर वा सवारीसाधनको कुनाकाप्चामा राखेर ल्याउने गरिन्थ्यो। तर रोकाले भने ढुक्कका साथ हातमा झुण्ड्याएर ल्याएका थिए। रोकाको तरिका हेर्दा उनी सिपालु कारोबारी रहेको प्रहरी बताउँछन्। रोकाले यसअघि पनि रुपैडिहाबाट लागूऔषध ब्राउनसुगर हेटौंडा पु¥याउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज मीनबहादुर विष्टले भने, ‘यसअघि पनि पटक–पटक ब्राउनसुगर लगिरहेकाले रोकामा कन्फिडेन्स देखिन्थ्यो। यसपालि उनी प्रहरीबाट बच्न सकेनन्।’

उनका अनुसार रोकाले १५.६ ग्राम ब्राउनसुगर ८२ हजार रुपैयाँमा किनेर ल्याएका थिए। रोकालाई ब्राउनसुगर हेटौंडा पुर्‍याइदिएवापत मोटो रकम दिने गरेको इन्चार्ज अधिकारीले बताए। उनका अनुसार उनले ल्याएको १५.६ ग्राम ब्राउनसुगर हेटौंडा पुर्‍याउन पाएको भए १७ हजार भारतीय रुपैयाँ पाउने थिए। रोका १७ हजार भारुको लोभमा ब्राउनसुगर लिन हेंटौडाबाट नेपालगञ्ज हुँदै रुपैडिहासम्म पुगेका थिए।

रोका रुपैडियाको चकियारोडका बारे जानकारसमेत रहेछन्। प्रायः नेपाली चकियारोडभित्र पस्ने आँट गर्दैनन्। रुपैडिहाको चकियारोडमा दिउँसै लुटपाटका घटना हुन्छ। चकियारोडको फुकोट गाउँलाई असुरक्षित मानिन्छ। यहीबाट ब्राउनसुगरलगायतको अवैध कारोबार सञ्चालन हुने प्रहरीको भनाइ रहेको छ।

रुपैडिहामा सहजै ब्राउनसुगर पाउने भएकाले टाढा–टाढाबाट कारोबारीहरु त्यहाँ पुग्ने गर्दछन्। बाँकेका छिमेकी जिल्लाहरु सुर्खेत, दैलेख, दाङलगायतबाट रुपैडिहामा ब्राउनसुगर जस्ता लागूऔषध लिन जानुलाई नौलो मानिँदैन किनकि यी ठाउँबाट मोटरसाइकलमा एकैदिनमा रुपैडिहा आएर फर्किन भ्याइन्छ। कतिपय भारतीय कारोबारीले ब्राउनसुगर नेपालगञ्ज र कोहलपुरसम्म नै पुर्‍याउने गरेको पाइन्छ। हेटौंडाबाट बस चढेर ब्राउनसुगर लिन रुपैडिहा आइपुगेको भने यो पहिलो घटना भएको बाँके प्रहरीको दावी छ।

रोकाले बताएको प्रारम्भिक बयानलाई आधार मान्ने हो भने लागूऔषधको मुख्य कारोबारी हेटौंडामा रहेका छन्। बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।

नेपालगञ्ज नाकामा सधैँ भीडभाड हुने भएकाले अवैध धन्दा गर्न सहज हुने गर्दछ। यहाँ बाह्रैमास लागूऔषध नियन्त्रण व्युरोको टोली खटिँदै आएको छ। बेला–बेलामा प्रहरीले तालिम प्राप्त कुकुर लगेर अनुसन्धानसमेत गर्दै आएको छ।

कात्तिक १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्