सरुवा हुन पत्र पाएपछि काठमाडौं प्रहरी प्रमुख सिंहले आइजिपी थापा र गृहमन्त्री खाँडविरुद्ध देखाएको ‘साहस’ !

काठमाडौं- वरिष्ठ प्रहरी उपरिक्षक-एसएसपी सुदिप गिरीले बुधबार बिहानै काठमाडौं प्रहरी परिसरका पुरोहितलाई फोन गरी सोधेका थिए- आज कतिबेला आउँदा ठिक हुन्छ ?

पुरोहितले जवाफ दिएका थिए- उत्तम समय दिउँसोको २ बजे छ।

त्यति सुनेर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने तयारी गिरीले गरिरहेका बेला एउटा समाचार बाहिरियो- प्रधानमन्त्री शेरबहादुर देउबाले काठमाडौं परिसर प्रमुखबाट अशोक सिंहलाई हटाउने निर्णय रोके। यसको मतलब थियो- एसएसपी गिरी काठमाडौं प्रहरी प्रमुख कम्तिमा तत्काल नबन्ने।

यसअघि मंगलबार गृह मन्त्री बालकृष्ण खाँडको निर्णयपछि प्रहरी प्रधान कार्यालयले एसएसपी गिरीलाई काठमाडौं प्रहरी प्रमुखका रुपमा काज सरुवाको पत्र दिएको थियो। काठमाडौं प्रहरी प्रमुख सिंहलाई पनि भैरहवा विमानस्थलमा सरुवा हुन पत्र पठाइएको थियो।

तर, समय नपुगी बिना कारण आफुलाई हटाउन खोजिएको भन्दै एसएसपी सिंहले सिधै प्रधानमन्त्री शेरबहादुर देउबासँग ‘सम्पर्क सूत्र’ प्रयोग गरेका थिए।

सिंह गत मंसिर ५ गते काठमाडौं प्रहरी प्रमुखका रुपमा सरुवा भएका थिए। आगामी महिना उनको एक वर्षे कार्यकाल पूरा हुँदै छ। प्रहरी नियमावलीमा विभिन्न  कार्यालय प्रमुखको कार्यकाल एक वर्ष रहने उल्लेख छ। त्यसअघि सरुवा गर्नुपरे कारण खुलाउनुपर्ने व्यवस्था छ। कार्यकाल पूरा हुन एक महिना पनि नरहँदा गृह मन्त्रालयले गरेको सरुवाविरुद्ध एसएसपी सिंहले विरोध गरेका हुन्।

‘कार्यकाल त पूरा गर्न दिनु पर्‍यो नि। एक महिना अघि सरुवा गर्दा किन भयो भन्ने प्रश्न उठ्छ। यसले मलाई डिमोरलाइज गर्छ’, सिंहले प्रहरी नेतृत्वसँग गुनासो गरेका थिए। गत मंसिर ५ गते गृह मन्त्रालयले काठमाडौँ प्रहरी परिसर, ललितपुर प्रहरी परिसर, महानगरीय ट्राफिक महाशाखा, त्रिभुवन विमानस्थलसहित विभिन्न तालिम केन्द्रहरुमा एसएसपीहरुको एकसाथ सरुवा गरेको थियो।

सिंहलाई सरुवा गर्ने विषयलाई लिएर बुधबार बिहान अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाल र महानिरीक्षक शैलेश थापाबीच चर्काचर्की परेको थियो।

‘नियमित सरुवा हुन ४ हप्तामात्र बाँकी रहेको अवस्थामा के कति कारणले सिंहलाई हटाउन खोजिएको हो ? तपाईँ आईजिपी भएर संगठनका लागि त्यति पनि अडान लिन नसक्ने ?’ पालले थापासँग गरेको टेलिफोन सम्पर्क उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने।

गृह मन्त्रालयको मनपरीविरुद्ध आईजिपीले अडान लिन नसकेको भन्दै पाल चर्किएका थिए। जवाफमा आईजिपी थापा ‘के त्यसो भए मैले राजीनामा दिनू त ?’ भन्दै रिसाएका थिए।

काठमाडौं प्रहरी परिसर शक्ति केन्द्रसँग सम्बन्ध बलियो बनाउन राम्रो प्रहरी युनिट मानिन्छ। संघीय राजधानीसमेत रहेकाले करियर भएका अधिकृतहरु यहाँ आउन मरिहत्ते गर्छन्। सिंह प्रहरी नायब महानिरीक्षक-डीआईजी बन्ने समेत दौडमा रहेकाले कार्यकाल पूरा हुनुअघि नै आफ्नो सरुवा गरिँदा त्यसलाई ‘मास’मा नकारात्मक सन्देश जाने भन्दै उनले गुनासो गरेका थिए। २०५१ र ०५२ सालमा प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेकाहरु अहिले एसएसपी छन्। अब डीआईजीका लागि हुने बढुवामा यसै ब्याचबाट अघि बढ्ने छन्।

सँधै अस्थीर बनाइन्छ काठमाडौंको प्रहरी नेतृत्व 

नेपाल प्रहरीमा एसपीभन्दा माथिको दर्जाको सरुवा प्रहरी प्रधान कार्यालयको हातमा हुँदैन। एसएसपी, डीआईजी र एआईजीको सरुवा गृह मन्त्रालय र मन्त्रिपरिषद्ले गर्छ। जिल्ला प्रमुखका रुपमा ललितपुर र काठमाडौंको नेतृत्व एसएसपीले गर्छ।

त्यसमा पनि काठमाडौं प्रहरी प्रमुखमा राजनीतिक चासो रहने गरेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुखहरुलाई हेर्ने हो भने अधिकांशले एक वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् वा उनीहरुलाई त्यसो हुन दिइएको छैन। कार्यकाल पूरा हुनुभन्दा अगाडि नै सरुवा गरिँदा कुनै कारणसमेत खुलाइँदैन।

सिंह आउनुअघि काठमाडौं प्रहरी प्रमुख रहेका श्याम ज्ञवालीले ८ महिना पनि काम गर्न पाएका थिएनन्। ज्ञवालीअघिका उत्तम सुवेदीले ११ महिना १९ दिन काम गरेका थिए। २०७३ माघयता मात्र ७ जना एसएसपी काठमाडौं प्रहरी प्रमुख भएका छन्। यसबीचमा छबिलाल जोशीले ७ महिना, रविन्द्रबहादुर धानुकले ५ महिना, विश्वराज पोखरेलले ६ महिना र बसन्त लामाले ८ महिना मात्र काम गरेका थिए।

कात्तिक १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्