तेजबहादुर केसीसहित १९ जना नै न्यायाधीश प्रधानन्यायाधीश राणाबिरुद्ध आन्दोलनमा

न्यायाधीश तेजबहादुर केसी। तस्विर : फेसबुकबाट

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनमा अरु न्यायाधीशलाई साथ दिएका छन्।

सर्वोच्चमा अरु न्यायाधीशहरुले इजलास नै बहिस्कार गरेर राणाको राजीनामा मागिरहेको अवस्थामा घर बिदामा रहेका केसीले आन्दोलनकारी न्यायाधीशलाई साथ दिएका हुन्।

दसैँ बिदाका लागि बुटवल घर गएका केसी अझै सर्वोच्चमा हाजिर भएका छैनन्। सर्वोच्चमा १८ जना न्यायाधीशले राणाका विरुद्ध आन्दोलन गरिरहेका बेला सम्पर्कमा नरहेका केसीले बुधबार आफू पनि बाँकी १८ जना न्यायाधीसँगै रहेको सन्देश अर्का न्यायाधीश बमकुमार श्रेष्ठमार्फत पठाएको स्रोतले जानकारी दियो।

राणाविरुद्धको आन्दोलनमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहहादुर मोक्तान, प्रकाश ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सहभागी हुँदै आएका छन्।

चुडाल र सुवेदी सोमबार सर्वोच्चमा उपस्थित नभए पनि मंगलबारदेखि अरु न्यायाधीशसँगै इजलास बहिस्कारमा उत्रेका थिए।

कात्तिक ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्