बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु

मोरङ – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ।

प्रतियोगिताको पहिलो खेलमा बिहीबार च्यासल युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा पराजित गर्दै झापा धुलाबारीको रोलिङ फुटबल क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। खेलको निर्धारित समयमा दुवै टोलीबाट समान १ गोल भएपछि अन्तिम निर्णय टाइब्रेकरबाट भएको थियो।

यसअघि, खेलको १३औं मिनेटमा च्यासलका रूमेश बर्ताेलाले डिबक्समा उपलब्ध गराएको पासमा सुसन लामाले सुरुआती गोल गरेका थिए।

त्यसलगत्तै खेलमा हावी हुने क्रममा च्यासलका लागि रूमेश बर्तोलाले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो।

एकपछि अर्को दबाव खेपेको रोलिङका लागि खेलको ३०औं मिनेटमा रोहन कार्कीले च्यासलको पोस्टमा आकर्षक प्रहार गरेका थिए। यद्यपि, सो प्रहारलाई च्यासलका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए। त्यसैगरी, पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा रोलिङका विकास लिम्बूले प्रहार गरेको बल पोलमा लागेर मैदानबाहिर भएको थियो। पहिलो हाफमा १ शून्यले पछि परेको रोलिङका लागि दोस्रो हाफ सुखद बन्न पुग्यो।

सो क्रममा खेलको ५७ आै मिनेटमा रोलिङका लागि हेन्थी वेलेले वान भर्से वानमा च्यासलका गोलरक्षक विनयलाई हराउँदै बराबरी १ गोल फर्काएका थिए।

त्यसपछि दुवै टोली निर्धारित समयमभ गोल गर्न असफल भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

च्यासलका खेलाडीको प्रहार जोगाउँदै टोली जिताउन सफल रोलिङका गोलरक्षक मनोज प्रधानले उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी, आयोजक डाँगीहाट युथ क्लबले शुक्रबार हुने दोस्रो क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौंले भारतको सिलगुडीस्थित रोयल फुटबल क्लबको सामना गर्नेछ।

कात्तिक ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्