डडेल्धुरामा वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ

काठमाडौँ – नेपाल सीआरएस कम्पनीले पहिलोपटक डडेल्धुरामा ‘फ्रीडम’ ब्रान्ड नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा एक कार्यक्रमबीच सेनिटरी प्याडको शुभारम्भ गरेको हो।

अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय्, मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धरलगायतले विद्यालयका छात्रालाई सामूहिक प्याड हस्तान्तरण गर्दै शुभारम्भ गरेका हुन्। ग्रामीण क्षेत्रमा मातृ तथा शिशुस्याहार सुधार आईसीएमसीसीआर कार्यक्रमअन्तर्गत महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लुबीचको सहकार्यमा प्याडको शुभारम्भ गरिएको सीआरएसका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले जानकारी दिए। यो कार्यक्रम सुदूर पश्चिम प्रदेशको डडेल्धुरासहित बैतडी, डोटी र बझाङमा लागू रहेको उनले बताए।

यस कार्यक्रमले विद्यालयका छात्रालगायत महिलाहरूमा महिनावारीका बेला सकारात्मक परिवर्तनको ज्ञान दिने विश्वास गरिएको छ। कार्यक्रम सञ्चालन भएका जिल्लामा वातावरणमैत्री प्याड सुपथ मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनावारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवस्थापनमा सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

अमरगढी नगरपालिकाका प्रमुख ओझाले नेपाली समाजमा व्याप्त सामाजिक विभेद अन्त्य गर्न बायोडिग्रेडेबल प्याडले सामाजिक बजारीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताए।

विकास संस्थानका उपप्रमुख साइमन हेन्केलेले डडेल्धुरामा बायोडिग्रेडेबल प्याड सुरु गरेकोमा सीआरएसलाई बधाई दिए। विद्यालयमा निःशुल्क प्याडसहित नेपालले उल्लेख्य प्रगति गरेकोमा आफू प्रभावित भएको उनले बताए।

नेपालमा अझै धेरै किशोरी तथा महिलाले महिनावारीका कारण समस्या भोग्नुपरेको बताउँदै उनले केटी र केटा दुवैलाई यस विषयमा सिकाउनु महत्वपूर्ण रहेको धारणा राखे।

कार्यक्रममा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धरले महिनावारीलाई एक वरदानको रूपमा लिनुपर्ने बताइन्। ‘यो एक प्राकृतिक प्रक्रिया हो। यसमा भेदभाव गर्नुहुँदैन’, उनले भनिन्, ‘हरेक पुरुषले आफ्ना परिवारका महिला सदस्यहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ।’

नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक पोखरेलले नेपालका चार जिल्लामा जर्मन विकास बैंकको आर्थिक सहयोगमा कम्पनीले बायोडिग्रेडेबल प्याडको बजारीकरण सुरु गर्ने बताए। कार्यक्रम कार्यान्वयन साझेदार संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराको सहयोगमा प्याडहरूको मार्केटिङ गरिने उनले जानकारी दिए।

नेपाल सीआरएस कम्पनीले चार दशकअघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्री वितरण तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीले केही प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तीन महिने सुई, निलोकन व्हाइट, सुनौलो गुलाफ, नवजीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन वितरण गर्दै आएको छ।

कात्तिक १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्