फोटो फिचर

अतिविशिष्ट कक्ष प्रयोग नगरी प्रधानमन्त्री देउवा बेलायत प्रस्थान (तस्बिरहरु)

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा गएका छन्। संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप २६) पक्षको २६ औँ सम्मेलनमा वर्ल्ड लिडर समिटका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी बेलायत गएका हुन्।

कतार एयरवेजको उडानबाट उनी लण्डन गएको परराष्ट्र मन्त्रालयले जनाएको छ। टोलीलाई बिदा गर्न गृहमन्त्री बालकृष्ण खाँड, ४ वटै सुरक्षा निकाय प्रमुख, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेस नेता विमलेन्द्र निधिलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

पाँचौं पटक प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो विदेश भ्रमण हो। उनले बेलायत जाने क्रममा विमानस्थलस्थित अति विशिष्ट कक्षको प्रयोग गरेनन्। उनी विशिष्ट कक्ष भएर विमानस्थल प्रस्थान गरेका थिए।

बेलायत उडेको देउवा नेतृत्वको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीसमेत ग्लास्गो जाँदै छन्।

त्यस्तै भ्रमण टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट रहेका छन्।

यसैगरी भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै जाँदै छन्।