काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण शुक्रबार सुरु भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्।

प्रदर्शनीमा ४४ वटा व्यावसायिक र ४ वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेको एसोसियसनले जनाएको छ। प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ।

चारदिने मेलामा उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाणपत्र प्रदान गर्ने एसोसिएसनले जनाएको छ। हरेक वर्ष तिहार पर्वलाई लक्षित गरी गोदावरी पुष्प प्रदर्शनी हुँदै आएको छ। एसोसिएसनले यस पटकको प्रदर्शनीमा ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको छ।