ट्राफिक प्रहरीद्वारा चोरीको मोटरसाइकल हस्तान्तरण

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। जसमा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेका छन्।

उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई न्युनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको छ। सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा टोलीले मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने गरेको छ। ट्राफिक प्रहरीले चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाहीसमेत गर्दै आएको छ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाइकल खोजतलास एवं चोरी नियन्त्रण गर्न निरन्तर लागिपरेको बताउँदै मोटरसाइकल हराउनै नदिनको लागि सबैको सहयोग र हातेमालोको खाँचो रहेको औंल्याए।

‘आफ्नो भेटिएको सवारीसाधन फिर्ता लिने क्रममा केही धनीहरुले ट्राफिक प्रहरीलाई धन्यवाद दिँदै हराएको मोटरसाइकल भेटिँदैन भनेर नयाँ किनेर चढ्न सुरु गरेको कुरा सुन्दा हामी थप उत्साहित भएका छौं’, एसएसपी भट्टराईले भने, ‘यसले अझ सक्रिय भई चोरी नियन्त्रणमा लाग्न हामीलाई प्रेरित गरेको छ।’

उनले कतिपय सवारी धनीको दुविधालाई चिर्न प्रहरी सफल भएको बताए। विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिने र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि तत्कालै विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेको महाशाखाले जनाएको छ। पछिल्लो समय स्कुटर चोरीका निवेदन बढ्न थालेको महाशाखाको तथ्याङ्कले देखाउँछ।

विशेषगरी स्कुटर चालकहरुले सवारी दर्ता किताव (विलबुक) डिक्कीमै राख्ने गरेको हुन्छ। कतिपय अवस्थामा चाँबीसहित स्कुटरहरु हराउने हुँदा चोरीपश्चात नम्बर प्लेटसमेत परिवर्तन नगरी निर्वाध रुपमा चलाउन, चेकिङ्गमा सोही ब्लुबुक देखाई छुट्नसमेत सजिलो हुने गरेको महाशाखाले जनाएको छ।

महाशाखाले जथाभावी पार्किङ्ग नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ्ग नगर्न र थप अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्न अनुरोध गरेको छ। चालू आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकलमध्ये १७१ नियन्त्रणमा लिई १६८ वटासम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।

मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागि पठाएको समेत महशाखाले जनाएको छ।

कात्तिक १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्