पश्चिम बंगालको आमुक्तलाई ५–० ले पराजित गर्दै एपीएफ सेमिफाइनलमा

मोरङ – सशस्त्र प्रहरी बलको टोली एपीएफ काठमाडौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको चौथो संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ।

मोरङको बेलबारी नगरपालिकाको लक्ष्मीमार्गमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको क्वाटरफाइनलमा भारतको आमुक्त परिवार पश्चिमबंगाललाई पाँच शून्यले स्तब्ध बनाउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो।

एकपक्षीय बनेको खेलमा हावी हुने क्रममा आमुक्त परिवारलाई सुरुबाटै एपीएफले दबावमा राख्न सफल भएको थियो।

आमुक्तको गोलपोस्टमा दबाव बनाउने क्रममा खेलको २२ औं मिनेटमा एपीएफका आवास लामिछानेले सुरुआती गोल गरेका थिए।

रक्षापंक्तिको फितलो प्रदर्शनका क्रममा आमुक्त परिवारका गोलरक्षक अभिजित रोयलाई गोल बचाउन हम्मेहम्मे परेको थियो।

अर्कोतर्फ, परिचित मैदानमा एपीएफका लागि खेलको ४४ औं मिनेटमा प्रदीप लामाले दोस्रो गोल गरे। पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको आमुक्तले खेलको पहिलो हाफसँगै दोस्रो हाफमा पनि दबाव खेपिरह्यो। खेलको ४९ औं मिनेटमा आशिष लामाले एपीएफका लागि तेस्रो गोल गरे। एपीएफको दबाब झेल्न नसकेको आमुक्तले खेलको ७५ औं मिनेटमा थप अर्को गोल आत्मसात् गर्‍ यो।

यसपटक एपीएफका सविन गुरुङले टोलीका लागि चौथो गोल गरे। खेल सकिन १५ मिनेट बाँकी रहदै गर्दा सहज जित निकाल्ने क्रममा एपीएफका लागि आशिष लामाले टोलीका लागि पाँचौँ तथा व्यक्तिगत दोस्रो गोल गरे। खेलमा जित हात पार्ने क्रममा दुई गोल गरेका आशिष उत्कृष्ट खेलाडी घोषित भए।

एपीएफले यसअघि वैशाखमा सम्पन्न विराट गोल्डकपमा भारतको पञ्जाव पुलिसलाई १ शून्यले पराजित गर्दै उपाधि चुमेको थियो।

प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो क्वाटरफाइनलमा गाईघाट फुटबल क्लबले हिमालयन शेर्पा काठमाडौंको सामना गर्ने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ।

कात्तिक १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्