प्रदेश १ मा गठबन्धनकै सरकार : सञ्चारमन्त्री

विराटनगरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा सञ्चारमन्त्री । तस्बिर : अभयकुमार राई/देश सञ्चार

विराटनगर – प्रदेश १ मा पाँच दलको गठबन्धन सरकार निर्माण हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले प्रदेश १ सरकारमा गठबन्धनले गरेको निर्णय नै कायम हुने बताए। उनले भने, ‘यहाँ गठबन्धन अनुसार सरकार बन्नेछ। गठबन्धन सरकार रहेको हुँदा त्यसले गर्ने निर्णय नै यहाँ हुनेछ।’

बागमती प्रदेशमा गठबन्धनबाहिर गएर सरकार गठन भएको सन्दर्भमा मन्त्री कार्की प्रदेश १ मा गठबन्धनले गर्ने निर्णयबाट अघि बढ्ने र आलोपालो सरकारको विषयमा छलफल हुन बाँकी रहेको जानकारी दिए।

शक्तिपृथकीकरणको सिद्धान्तमा विश्वास

न्यायालयको विषयमा देखिएको विवादमा मन्त्री कार्कीले शक्तिपृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने बताए । उनले भने, ‘हामी शक्तिपृथकीकरणको सिद्धान्तमा विश्वास गर्छौँ । सर्वोच्चको सरकारको आ–आफ्नै भूमिका हुन्छन्। हामी स्वतन्त्र न्यायापालिकाको पक्षमा रहेकाछाैँ।’

सरकार न्यायापालिकालाई थप सशक्त र मजबुत बनाउनेतर्फ जोड दिएका मन्त्री कार्कीले न्यायालयलाई जनताको विश्वासको धरोहरको रुपमा स्थापित गराउने कांग्रेसको धारण रहेको प्रष्ट्याएको छ।

कांग्रेसको नेतृत्वमा रहेको सरकारले मुलुकमा स्थिरता, दीगो विकास र जनताको अपेक्षा अनुसारको कार्यलाई प्राथमिकता दिएको उनले बताए।

कात्तिक १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्