प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुरा भएको छैन, ओलीको अभिव्यक्ति अस्वीकार्य : अध्यक्ष नेपाल

विराटनगरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा माधवकुमार नेपाल । तस्बिर : अभयकुमार राई/देश सञ्चार

विराटनगर – न्यायापालिकामाथि एमालेले हस्तक्षेप गर्दै आएको आरोप नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लगाएका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चाकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायालयका पाँचजनाले राजीनामा दिनुपर्छ भनि दिएको अभिव्यक्ति अस्वीकार्य रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘न्यायापालिकाले गतवर्ष पुस ५ गते र यहि वर्ष जेठ ७ गते ओली सरकारविरुद्ध ऐतिहासिक निर्णय गरेको छ। त्यसकै रिस पोख्न ओलीले राजीनाको सन्र्दभ उठाउनु भएको हो। उहाँको कुरा अत्यन्त अस्वीकार्य छ।’

पछिल्लो समय ओलीको जथाभावी बोल्ने प्रवृत्ति बढेको बताउँदै अध्यक्ष नेपालले भने, ‘तानाशाहविरुद्ध गलत कुराविरुद्ध कसैले टिप्पणी गरे उहाँलाई खपिसक्नु हुँदैन। विगतमा उहाँको तानाशाही प्रवृत्तिका कारण मुलुकमा अराजकता, संविधान समाप्त पार्ने अवस्था देखिएको थियो।’

न्यायापालिका स्वतन्त्र निकाय भएको हुँदा त्यसको समाधान पनि छलफलबाट नै गरिनुपर्ने उनको भनाई छ। अहिले बाहिर कुरा निस्किएजस्तो प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने सन्दर्भ कतै र कसैले नगरेको उनले प्रष्ट पारे ।

यसैबिच अध्यक्ष नेपालले प्रदेश १ मा आफ्नै पार्टीको सरकार गठन हुने कुरामा अडिग रहेको बताए । पत्रकारले प्रदेश सरकारबारे राखेको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘प्रदेश १ मा समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्रीसहित सरकार हुनेछ। यहाँ समाजवादी कै सरकार बन्नेछ।’

एमाले अध्यक्ष ओलीले प्रदेशमा षडयन्त्रको गोटी चालिरहेको आरोप लगाएका अध्यक्ष नेपालले भने, ‘ओलीका सबै गोटी असफल बनाउनेछौँ। यहाँ ५ दलको गठबन्धनको सरकार नै बन्नेछ। आलोपालो वा कांग्रेसलाई सरकारको अगुवाई गर्न दिइने बारे केही छलफल भएको छैन। गठबन्धन टुट्दैन।’

वर्तमान मुख्यमन्त्री भीम आचार्यसहितको सरकार ढालेर समाजवादी संसदीय दलका नेता राईले सरकारको नेतृत्व गर्ने उनले बताए ।

कात्तिक १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्