‘एमालेलाई अब केही दिनमा टर्च बालेर खोज्नुपर्छ’

मोरङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नक्कली पार्टी भएको बताएका छन्।

विराटनगरमा शनिबार आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदानका क्रममा अध्यक्ष नेपालले कम्युनिस्ट सक्कली र नक्कली हुने हुँदा सबैलाई सावधान हुन आग्रह गरे।

उनले भने, ‘एमाले नक्कली पार्टी हो। अहिले सूर्यमा ग्रहण लागेको त्यसको भविष्य छैन। अब भविष्य कलममा छ। त्यसैले हामी मात्र सक्कली पार्टी हौं।’

समाजवादी पार्टी देशभक्त भएको बताउँदै अध्यक्ष नेपालले अरु दलजस्तो विदेशीसँग घुँडा नटेक्ने बताए।

उनले भने, ‘केही पार्टी विदेशीसँग घुँडा टेक्छन्। तर समाजवादीले ओली नेतृत्वको एमालेले जस्तो मध्यरातमा विदेशी कूटनीतिज्ञसँग छलफल गर्दैन।’

एमाले अध्यक्ष ओलीसँग तिक्तता पोख्दै उनले भने, ‘बलयगाडा चढेर अमेरिका जाने र राजतन्त्र फाल्न नसकिने भनाइ राखेका ओलीको तानाशाहका कारण अब एमाले सिद्धियो, सिद्धियो, सिद्धियो, अबका केही दिनमा टर्च बालेर खोज्नुपर्छ।’

त्यसैगरी, प्रदेश १ मा समाजवादी नेतृत्वको सरकार बन्नेमा कुनै दुविधा नरहेको उनले दोहोर्‍याए।

उनले भने, ‘दलीय गठबन्धनविरुद्ध सरकार जोगाउन ओलीका केही मान्छे उदयपुरमा १ करोड रुपैयाँ लिएर पुगेका रहेछन्। पद खोस्नका लागि रकमको लोभ देखाएपछि त्यो रकम खोस्नुपर्ने थियो। मैले कार्यकर्तालाई भनेँ तपार्इंहरूले त्यो रकम खोस्नुपर्थ्यो।’

आफूहरू नक्कली कुरा गर्ने पार्टी नभएको प्रस्ट्याउँदै उनले समाजवादी सत्य भन्ने, न्यायको बाटोमा हिँड्ने तर नक्कली कुरा नगर्ने बताए।

 

कात्तिक १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्