प्रदेश १ मा गत २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ सय ९५ जनाको पीसीआर परीक्षणमा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ११, झापा र सुनसरीमा समान १०, उदयपुर र प्रदेश १ बाहिरकामा समान १ जनामा संक्रमण देखिएको हो।
त्यसैगरी, मोरङको विराटनगरमा १०, रंगेलीमा १ जनामा संक्रमण देखिएको छ। झापाको भद्रपुरमा ४, मेचीनगर र स्थानीय तह नखुलेकामा समान २, बिर्तामोड र बुद्धशान्तिमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
प्रदेशमा शनिबार १ सय १ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुनेमा ४६ महिला र ५५ पुरुष छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।