किन खोसियो न्यायाधीश खतिवडाको ‘लेटर बम’ न्यायाधीशहरुको हातबाट

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायाधीश ईश्वर खतिवडाले आन्दोलनकारी न्यायाधीशहरुलाई लेखेको राजनीतिक प्रकृतिको इमेलले थप विवाद उत्पन्न गरेको छ ।

उनले अमेरिकाबाट पठाएको करिब चार पृष्ठको इमेल चार–पाँचजना न्यायाधीशले पालैपालो पढेपछि एकजनाले सबैलाई ‘म सुनाउँछु’ भन्दै पढ्न थालेका थिए। तर, अन्य न्यायाधीशहरुले कराएर नपढ्न भनेपछि  विभिन्न न्यायाधीशहरुका हातमा पुगेको त्यो पत्र एकजना न्यायाधीशले फिर्ता लिएका थिए ।

शुक्रबार अपरान्ह सर्वोच्चका १८ जना विद्रोही न्यायाधीशहरुको बैठकमा खतिवडाले आफ्ना मित्र वरिष्ठ न्यायाधीश आनन्दमोहन भट्टराईलाई वर्तमान आन्दोलनलाई कसरी अघि बढाउने, त्यसबारे सुझावसहित आफ्नो समर्थन जनाएका थिए ।

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए, खतिवडाले उनलाई चोलेन्द्र शमशेर राणाको मतियारका रुपमा प्रस्तुत गर्दै ।
न्यायाधीश कुमार चुडाल, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र आनन्द मोहन भट्टराईले उक्त पत्रका सबै विवरणहरु पढ्न भ्याएका थिए भने राउतले ‘इमेल’ को प्रतिलिपि नपाएका अन्य ‘मित्र’हरुको फाइदाका लागि पढेर सुनाउन थालेपछि अर्का न्यायाधीशले त्यसलाई रोकेका थिए ।

हाल अमेरिकामा रहेका खतिवडाले दोस्रोपल्ट केपी ओली सरकारबाट भएको संसद विघटन उल्ट्याउन भएको सर्वसम्मत फैसला लेखनको जिम्मा पाएका थिए । प्रधानन्यायाधीश राणाविरुद्ध अन्य न्यायाधीशहरुद्वारा ‘कार्यकारी’सँग साँठगाँठ र अदालतको छवी गिराउने खालका फैसला गरेको आरोपका साथ आन्दोलन र विगत एकसातादेखि इजलास बहिष्कार गर्दै आएका छन् ।

खतिवडा पत्रमा ७–८ बूँदामा प्रधानन्यायाधीश राणाविरुद्ध खनिएका छन् । एक स्रोतका अनुसार उनले पत्रमा प्रधानन्यायाधीशप्रतिका सम्मानजनक विशेषण बिना नै पटक–पटक ‘चोलेन्द्र’ भनी उल्लेख गरेका छन् ।

पत्रमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित कुनै आलोचना छैन, तर चोलेन्द्रसँगको साँठगाँठमा ओली दोषीका रुपमा प्रस्तुत गरिएका छन् ।

चोलेन्द्र शमशेरको राजीनामाको मागसहित न्यायाधीशहरुले इजलास बहिष्कार गरेपछि ओलीले राणामात्रै हैन, संसद विघटन उल्ट्याउने सबै पाँचजना न्यायाधीशले राजीनामा दिनु पर्ने माग सार्वजनिक रुपमै उठाउँदै आएका छन् ।

कात्तिक १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्